काठमाडाैं,३१ जेठ । नेकपा एमालेले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष केशव बडालका अनुसार प्रशिक्षण कार्यक्रम साउन दाेस्राे सातादेखि सुरु हुनेछ । अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण दिन लागिएकाे उहाँले बताउनुभयाे ।
बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, सिद्धान्त र अनुशासन विपरितका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय गरेकाे छ । बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्यमा मनाेनीत पनि गरेकाे छ ।
बैठकमा पार्टीकाे आन्तरिक जीवन लगायत विषयमा पनि छलफल भएकाे थियाे ।


