काठमाडौ । मंगलबार समता अस्पतालमा युवतीको झुण्डिएको अवस्थामा भेटिएको शवको विषयमा झनै रहस्यमय भन्दै थप कुराहरु बाहिर आइरहेका छन् । अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङको मृत्यु पश्चात उनका आफन्त तथा स्थानीयले अस्पताल तोडफोड गरेपछि अस्पतालको वातावरण निकै तनावपूर्ण बनेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
आक्रोशित स्थानीयको ढुंगा प्रहारबाट प्रहरी समेत घाइते भएका छन् । आक्रोशित प्रदर्शनकारीले हत्यारालाई फाँसी दे भन्दै नाराबाजी गरेका छन् । उनीहरुले सीसी टिभीको फुटेज समेत देखाउन माग गरेका छन् । अस्पतालको प्यासेजमा तामाङको शव झुण्डिएको अवस्थामा भेटिएको हो ।
तर, स्थानीय तथा आफन्तहरु भने तामाङ झुण्डिएर मरेको स्वीकार गर्न तयार छैनन् । घटना झनै रहस्यमय भनिदै गइएको छ । मृतकको खल्तिमा सानो कागजको टुक्रा भेटियो भन्ने सन्देश प्रहरीले दिएको छ । उक्त कागजको टुक्रामा अस्पतालकै कर्मचारी तीर्त दिदीलाई समाउनुस, रिसेप्सेनको संगीतालाई समाउनुस र म्यामलाई समाउनुस भनेर लेखिएको भेटियो भनिएको छ ।
यो कागजको टुक्रा भेटिएसँगै आफन्त तथा स्थानीयले भनेजस्तै घटना थप रहस्यमय बनिरहेको छ । घटनाको सत्य, तथ्य छानविनको माग गर्दै भएको आन्दोलनका क्रममा केही अस्पतालका कर्मचारी घाइते भएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको छ ।
मंगलबार दिनभरको तनावपछि दुई पक्षीय छलफलबाट तामाङको ५ वर्षीया छोराको शिक्षाका लागि सम्पूर्ण व्यवस्था हस्पिटलले गर्ने सहमति भएको छ । सहमतिपछि आन्दोलन मथ्थर भएको काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले बताए । तर अनुशन्धानबाट दोषि देखिए कार्बाही गर्न गरिएको माग भने यथावत छ ।
घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अधिकृतका अनुसार विमलाको गोजीमा एउटा कागजको टुक्रा भेटिएको छ, जसमा अस्पतालकै तीन जना कर्मचारीको नाम उल्लेख छ । अंग्रेजी भाषामा लेखिएको त्यो कागजको टुक्राको सत्यताबारे प्रमाणित गर्न प्रहरीले वैज्ञानिक परीक्षण गर्ने तयारी गरेको छ । यद्यपि, प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि दुई जना कर्मचारी र अस्पताल सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमती पक्राउ गरेका छन् । हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बौद्धमा राखिएको छ ।
आन्दोलनकारी उग्र भएपछि प्रहरीले अस्पताल सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीलाई सुरक्षित स्थानमा लगेको भनिएपछि पक्राउ गरेर अनुशन्धान गरिएको खुल्न आएको छ । घटनाको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर दुवै टोलीले छानविन गरिरहेको छ ।
यसअघिपनि उत्तम सञ्जेलमाथी भौतिक आक्रमण गरिएको थियो । यो प्रपञ्चपनि उनको कामलाई अबरोध गर्नेगरी कसैले रचेको छ हैन भन्ने शंका देखिएको छ । उद्यपी सत्यता प्रहरीको अनुशन्धानबाट खुल्ने नै छ ।


