काठमाडौं,२६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने बताएको छ । स्थानीय तहमा केही एजेण्डामा सहमति भए तालमेल भएपनि राष्ट्रिय लेभलमा त्यो सम्भावना नरहेको एमालेले जनाएको छ ।

आसन्न प्रदेश र संघको निर्वाचनमा कांग्रेसलगायत दलहरु पाँचदलीय गठबन्धन बनाएर गएपछि एमालेलाई सकस भएको छ । केही ठाउँमा राप्रपासँग चुनावी तालमेल गरेको एमाले लोसपासँग सहकार्यका लागि संवाद गरिरहेको छ ।

एमालेका लागि यतिबेला प्रतिष्ठाको लडाइँ रहेको छ । पार्टी उपाध्यक्ष ईश्वर पोखरेल कुनैपनि हालतमा नेकपा एकीकृत समाजवादी लगायतका दलहरुसँग तालमेल नहुने बताउनुहुन्छ । नेपालमा वामपन्थी दलहरुनै नरहेको बताउँदै उहाँले सिद्धान्तनै बेच्नेहरुसँग सहकार्य नहुने दाबी गर्नुभयो ।

एमालेका अर्का नेता टोपबहादुर रायमाझीले आफूहरुलाई तालमेलका लागि प्रस्ताव आएको भएपनि सिद्धान्त एजेण्डा नमिल्नेहरुसँग चुनावै जित्नका लागि सहकार्य नहुने बताउनुभयो । स्थानीय तहमा केही ठाउँहरुमा सम्भावना रहेपनि केन्द्रमा भने कसैसँग तालमेल नहुने उहाँको भनाइ छ ।

गठबन्धन दलहरुबीच तिक्तता आउला की भनेर बाटो कुरिरहेको एमालेका लागि त्यो असम्भव देखिएको छ । सत्ताको प्रमुख घटक नेपाली कांग्रेस गठबन्धनका लागि लचिलो बन्दै गएपछि सिट बाँडफाँटमा पनि सहमति जुट्ने आंकलन गरिएको छ ।

गठबन्धनभित्र जसपाले केही असहमति राखेपनि उ आफै लचिलो बन्ने स्थितिमा देखिएको छ । हाल पाँचदल एकातिर एमाले अर्कोतिर देखिने भएको छ । केही ससाना दलहरु भने अलग्गै मोर्चा बनाएर चुनावमा होमिएका छन् ।