काठमाडौं,३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुराएको बताएका छन्। पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक हरेक हिसाबले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताए।
मुलुकलाई शान्ति र स्थिरता तथा विकासको बाटोतर्फ अघि बढाउन अबको निर्वाचनमा एमालेले हार्न हुने उनले बताए। ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अब यसलाई रोक्नुपर्ने धारणा राखे। एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरू मध्ये कसैले पनि एक्ला एक्लै चुनाव लड्ने आँट गर्न नसकेको तर्क गरे। उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफूलाई नै साधारण सदस्यबाट निष्कासन गरेको बताए। कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिएको उनको भनाइ छ।
‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी आन्दोलन बनाऔं, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ। मैले अंगालो हालेको थिएँ,’ उनले भने, ‘प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकति सचेत थिएँ। नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे।’



















