काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) बीच चुनावी तालमेल हुने भएको छ । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) ले जसपालाई १६ सिटमा सीमित गर्न खोजेपछि एमालेसँग तालमेल हुने भएको हो ।

दिउसो बालुवाटार बैठकबाट रिसाएर बाहिरिनु भएका जसपा अध्यक्ष उपेन्द्र यादव सिधैं एमाले अध्यक्ष निवास बालकोट पुग्नु भएको थियो । राति अबेरसम्म रघुविर महासेठको निवासमा वार्ता गरेका दुवै दलका नेताहरू लगभग निष्कर्षमा पुग्नु भएको बताइएको छ ।

एमालेले जसपालाई २२ सिटमा सघाउने भएको श्रोतले बताएको छ । जसपासंग सिट संख्यामा सहमति भए पनि केही क्षेत्रमा दोहोरो दावी रहेकाले आज शिर्ष नेताबीच छलफल भएर टुग्याइने बताइएको छ । आजै दुवै दलको नेताले सहमतिमा हस्ताक्षर गर्ने बताइएको छ ।

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले दलबदल र कित्ता परिवर्तनले राजनीतिलाई फगत व्यापारमा झारेको बताएका छन् ।

एमालेसँग तालमेल गर्ने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक संजालमार्फत उनले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद भएको बताए ।

उनले लेखेका छन्,‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो१ यो अवसरवादको अ‍ॅध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’