काठमाडौँ, फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद बैठकमा मन्त्रीको उपस्थिति नरहेकाले सरकार जवाफदेही नबन्ने चिन्ता व्यक्त गरेका छन् ।
श्रेष्ठले उठेर नियमापत्ति गरि सभामुख देवराज घिमिरेले सोधेपछि संसद बैठकमा एक जना पनि मन्त्री नभएको बताए । सभामुखले राज्यमन्त्री रहेको बताए । सांसद श्रेष्ठले राज्यमन्त्री रहेर मात्रै नहुने भन्दै भने, ‘क्याबिनेट मिनिस्टर भएर अनि सरकार कसरी जवाफदेही बन्छ ।’ प्रतिनिधिसभा नियमावलीमा प्रतिनिधिसभा बैठक चलिरहँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले कृषि क्षेत्रमा वितरण भइरहेको अनुदानको व्यापाक दुरुपयोग भएको भन्दै संसदमा आवाज उठाएका छन् । प्रतिनिधिसभा संसदमा बुधबार बोल्दै उनले अहिले देशमा किसानका समस्याबारे संसदमा सांसदले उठाइरहेको भए पनि समस्याको समाधानमा सरकारले ध्यान नदिएको बताएका छन् ।
‘झोलामा गाई पाल्ने, झोलामा खेती लाउने झोले किसानहरुलाई झोलामै अनुदान हालिदिएको अवस्था छ,’ उनले भने, ‘जसले हुकँदै गरेको काठमाडौँका बच्चाका लागि दुःध पठाउँछ । त्यस्ता किसानले पाउने अनुदान पनि भ्रष्टाचार गरेर खाने पापीहरुलाई कारवाही हुँदैन । अनुदान वितरण गर्ने जिम्मा वडालाई दिने हो भने कृषिअनुदानमा भइरहेको भ्रष्टाचार कम हुने छ ।’




















