काठमाडौं,४ फागुन । नेकपा (माअ‍ोवादी केन्द्र) र नेकपा (एमाले)बीच सत्ता गठबन्धन जारी रहेका बेला संघीय संसद्को कर्मचारी युनियनमा भने नेपाली कांग्रेस र माओवादी निकटका कर्मचारीको गठबन्धन विजयी बनेको छ ।

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघ र माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनबीच गठबन्धन हुँदा एमाले निकटको निजामती कर्मचारी संगठन उपाध्यक्ष र सदस्यमा सीमित भएको छ ।

कर्मचारी युनियनको अध्यक्षमा कांग्रेसनिकटको युनियनका गोविन्द वेल्बासे निर्वाचित भएका छन् भने सचिवमा माअ‍ोवादी निकटको राकसका उमेदवार सरस्वती रिजाल, सहसचिवमा राकसकै अर्जुन पौडेल निर्वाचित भएका छन् भने कोषध्यक्षमा यही टिमबाट उमेदवार बनाइएका कुनै पनि संघमा नरहेका कम्प्युटर इन्जिनियर रामकृष्ण भेटुवाल निर्वाचित भएका छन् ।

एमाले निकटको कर्मचारी संगठनका तर्फबाट उमेदवार बनेकी प्रमिला गौतम पदाधिकारीमा एकमात्र निर्वाचित उपाध्यक्ष भएकी छन् । यस्तै, सदस्यमा भने गठबन्धनका दुईजना मात्र निर्वाचित हुँदा बाँकी सदस्य एमाले निकटको निजामती कर्मचारी संगठनकै उमेदवार निर्वाचित भएका छन् । सदस्यमा निर्वाचित हुनेमा सदन राई, विनुका सेर्पा, सकुन्तला भट्ट, समिर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुड छन् ।

एमाले र माअ‍ोवादी केन्द्र निकटका संगठनले केन्द्रबाटै गठबन्धन गराउने प्रयास गरेपछि संघीय संसद्भित्र समझदारी कायम हुन नसक्दा गठबन्धन सम्भव नभएको राष्ट्रिय कर्मचारी संगठनका सचिव सुशील खड्काले जानकारी दिए । कतिपय कर्मचारीले भने सरकारमा हुने सम्भावित गठनबन्धनको संकेत यो चुनावले गरेको बताएका छन् ।