काठमाडौं,१२ फागुन  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा निर्णायक छलफल सुरु भएको छ ।

आफू प्रधानमन्त्री नियुक्त हुनुभन्दा केही घण्टाअघि भएको पुस १० को सहमतिबिपरित गएर चुनावअघिको परमादेसी गठबन्धन ब्यूँताउने गृहकार्यमा दाहाल लागेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले–माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ बार्तामा बस्नुभएको हो ।

राष्ट्रपतिको विषयमा निर्णायक छलफल गर्नका लागि अध्यक्ष ओली बालुवाटारमा पुग्नुभएको छ । यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकले चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । एमालेले नेकपा माओवादी केन्द्रका दाहाललाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ ।

प्रधानमन्त्री दाहाल आफैलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिने एमालेसँग भागेर कांग्रेस नेतृत्वको पुरानै गठबन्धनको पक्षमा उभिएपछि ओली निर्णायक छलफलका लागि बालुवाटार पुुग्नुभएको हो । दाहाललाई भेटन बालुवाटार हिँड्नुअघि ओलीले अन्य दलको बैठकबारे अनभिज्ञता जनाउँदै पूर्वसहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले पूर्वसहमति अनुसार एमालेलाई राष्ट्रपति नदिने देखेपछि ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गर्नुभएको थियो । ओलीको प्रस्तावअनुसार बिहीवार माधवलाई राष्ट्रपति बनाउने निर्णय गर्नुभएका दाहालले आज कांग्रेससँग भेटेपछि कुरा फेर्नुभएको छ ।

यद्यपी पुरानो गठबन्धनमा समेत रहनुभएका नेपालले राष्ट्रपतिमा दावी नछाडने अडान लिएपछि साँझसम्मका लागि बैठक स्थगित भएको छ । आज ओली र प्रचण्डबीच हुने छलफलपछि यो गठबन्धन र सरकारको भविश्यसमेत निर्धारण हुनेछ ।

एमालेले समर्थन फिर्ता लिएमा दाहाल सरकार अल्पमतमा पर्नेछ भने संबिधानको धारा ७६ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ । त्यसबेला दाहालले देउवालाई मत हालेर मन्त्रीमा चित्त बुझाउनु बाहेक अरु कुनै उपाय नहुने प्रष्ट तस्विर देखिएको छ ।