उर्लाबारी, १३ फागुन । मोरङको उर्लाबारी–३ स्थित पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको अध्यक्षमा काँग्रेस–माओवादीको संयुक्त गठबन्धनका उम्मेद्वारलाई हराउँदै नेकपा एमालेका उम्मेदवारले शानदार जित हासिल गरेका छन् ।

चौतर्फी घेराबन्दी गर्दै एमालेलाई एक्लाएर काँग्रेस र माओवादी दुई ठुला दल एक भएर चुनाव लडेका थिए । अध्यक्षमा माओवादी केन्द्रका नेता समेत रहेका प्रकाश पौडेललाई हराउँदै एमालेका द्रोण पौडेल विजयी हुनुभयो । प्रकाशले १४९ र द्रोर्णले १५४ मत ल्याउनुभयो । जम्मा ३०५ मत खसेको थियो । २ मत बदर भएको थियो ।

समूहको साझेदारी वन व्यवस्थापन समितिमा दलहरुले प्यानल बनाएर उम्मेदवार उठाएका थिए । नेपाली काँग्रेस र माओवादी केन्द्रको प्यालनको माओवादीका प्रकाश तथा नेकपा एमाले, जसपालगायत दलको प्यालनको एमालेका द्रोणले नेतृत्व गरेका थिए।

अध्यक्षका प्रत्यासी दुवै जना रतुवामाई नगरपालिका वडा नंं ६ निवासी हुन् । समूहको स्थापनाकालदेखि नै अध्यक्ष रहेका प्रकाश पौडेल तेस्रो कार्यकाल अध्यक्ष बन्ने दौडमा रहेका थिए तर छिमेकी समेत रहेका द्रोणले पराजित गरेका हुन् । यस्तै, निर्वाचित जनप्रतिनिधि सदस्यमा शेखरनाथ दाहाल निर्वाचित भएका छन् । मोक्तान र दाहाल दुवै जना नेकपा एमालेका हुन् । अन्य सदस्यहरुको मत परिणाम घोषणा हुन बाँकी छ ।