काठमाडौं,३ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ।स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ को दफा ११ मा स्ववियु निर्वाचन आचारसंहिता उल्लेख गरिएको छ। सो अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने व्यवस्था राखिएको छ। 

त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनलाई सहजीकरण गर्न मौनअवधि राख्ने व्यवस्था भएको बताउनुभयो।

प्राध्यापक अधिकारीले भन्नुभयो, ‘खासमा के हो भने, यो समयावधिमा अनावश्यक कोही, कतै प्रभावित नहुन् भन्ने हिसाबले राखिएको समयावधि हो। त्यो समयावधिमा क्याम्पसले आफ्नो आन्तरिक काम पनि सहज ढङ्गले गर्न सक्ने वातावरण बन्ने, अर्कोतिर मतदातालाई गलत ढङ्गले प्रभावित पार्न नमिल्ने भएकाले शून्य समय राखिएको हो।’

उहाँले यो एक किसिमले परम्परा जस्तो पनि भएको बताउनुभयो। ‘यो परम्परा जस्तो पनि भयो’, उहाँले जोड्नुभयो।यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो। निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो। 

मतदान केन्द्रमा यी सामान लैजान प्रतिबन्ध

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ। निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको  बताए।

उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोत्तल, रङ, मसी लैजान निषेध गरिएको छ।

 यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्ुतमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ। यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ। 

उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए।