पथरी,३ चैत । उज्वल लकान्द्री मोरङको पथरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापति पदका उम्मेदवार हुन् ।
उनको जन्म २०५५ साल जेठ ११ गते पथरी शनिश्चरे नपा वडा नं. ४ मा आमा सीता र बुबा गोपाल लकान्द्रीको कान्छो सन्तानको रूपमा भएको हो ।
शहरको सर्वाधिक पुरानो एभरेष्ट माविबाट प्रारम्भिक शिक्षार्जन गरेका उज्वलले पञ्चायत माविबाट एसएलसी र उच्च मावि तहको परीक्षा उत्तीर्ण गरे । विज्ञान संकायका विद्यार्थी उज्वल पञ्चायत मावि पढ्दै गर्दा राजनीतितर्फ आकर्षित भए । प्रारम्भदेखि नै बामपन्थी राजनीतिमा आकर्षित उज्वल अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै हाल मोरङ जिल्ला कमिटी सचिवालय सदस्यको रूपमा क्रियाशील छन् ।
पथरी बहुमुखी क्याम्पसको स्नातकोत्तर तहको विद्यार्थी उज्वल यतिबेला स्ववियु निर्वाचनका लागि एमाले निकट अखिलको तर्फबाट सभापतिका उम्मेदवारको रूपमा सक्रिय रहँदैआएका छन् । पथरी जेसीजको समेत नेतृत्व लिइरहेका उज्ज्वललाई अखिलले आफ्नो तर्फबाट स्ववियु सभापतिको रूपमा अघि सारेसँगै माहौल एकाएक तातिएको छ ।
दिनको उज्यालोसँगै अबेर रातसम्म विद्यार्थीमाझ उठबस, भेटघाट र तिनका समस्यामा आधारित छलफलमा उत्रिएका उज्वल त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको यो क्याम्पसलाई पूर्वोत्तर मोरङमा शैक्षिक केन्द्रको मियो बनाउन चाहन्छन् ।
विगतमा स्ववियुले राम्रो काम गरेको भए अहिले पनि विद्यार्थी संख्या ६ सय मात्र रहने थिएन, यो संख्या कमसेकम हजारमाथि पुगिसकेको हुन्थ्यो– क्याम्पस वृद्धि–विकासबारे उनको फरक तर्क छ । पालिकाबाहिर र पालिकभित्रकै पनि दूरदराजबाट आउने विद्यार्थीका लागि क्याम्पस बस, छात्रामैत्री शौचालय र बाचनालय, स्तरोन्नति सहितको खेलमैदान, नियमित पठनपाठन आदि मुद्दाहरू उज्वलका मुखबाट उच्चारित हुने आवाजहरू हुन् ।
विज्ञान र बीबीएलगायत व्यवस्थापन संकायको पठनपाठन यहाँ आरम्भ गर्ने हो भने यो शिक्षाका लागि शहरबाहिर जानुपर्ने स्थानीय विद्यार्थीको वाध्यकारी अवस्था अन्त्य गर्न सकिने विश्वास बोकेको उज्वल स्ववियु निर्माण र सञ्चालन प्रक्रियालाई सहभागितामूलक र पारदर्शी बनाउनुपर्ने कुरामा जोड दिन्छन् । पाखुराका भरमा हुने गरेको स्ववियु सञ्चालन र छात्रवृत्ति वितरण प्रणाली उनलाई सधैँभरि अप्रिय र असह्य लाग्ने विषय हो ।
शारीरिक संरचना विकासले समेत अग्ला, शालीन, सुशील र भद्र स्वभावका उज्जवले जीतको आधार मात्र तयार गरेको छैन, सुनिश्चित प्रायशः भएको छ । यो दृढ मतका साथ आफू र आफू मातहतको पंक्तिलाई भोट दिन आह्वान गरेका छन् ।




















