रामेछाप,२१ चैत । रामेछापको मन्थली नगरपालिका–११ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेश बोहरा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमालेले मंगलबार गेलु नाटिलामा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा बोहरा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले वाग्मती प्रदेश कमिटी सदस्य गंगा कार्की, लब श्रेष्ठ, जिल्ल कमिटी उपसचिव प्रकाशकुमार कार्की, होतराज ढकाल, नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतले पार्टीमा स्वागत गर्नुभएको कार्यक्रममा सहभागी अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले जानकारी दिनुभयो । वडा स्तरीय भेलामा नेताहरूले प्रशिक्षणात्मक मन्तव्य पनि राख्नु भएको थियो ।
पार्टी प्रवेश गर्दै आफू पहिला पनि एमाले नै भएको र बिचमा विभिन्न कारणले नेपाली कांग्रेसमा प्रवेश गरेको भए पनि पुनः पुरानै पार्टीमा फर्किएको बोहराले बताउनुभयो । सबै कुरालाई विचार गर्दा नेकपा एमाले जनताको पार्टी भएको बुझेर नै एमालेमा फर्किएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस जनताको पक्षमा नलागेर माओवादीसँग मिल्न पुगेको कारण आफू कांग्रेसमा बस्न नसकेको उहाँले बताउनुभयो । माओवादीको ज्याजति सम्झिएर पनि कांग्रेसमा बस्न उचित नठानेको उहाँले बताउनुभयो ।
जुन पार्टीले जनतालाई सहयोग गर्छ त्यसैलाई सहयोग गर्नुपर्छ भनेर एमालेमा लागेको उहाँले बताउनुभयो । ‘नेपाली कांग्रेसका सबै साथीको प्रण त्यही भएको छ, अब नेपाली कांग्रेस भन्ने मान्छे पनि हाम्रो वडामा भेटिँदैन होला’, उहाँले भन्नुभयो ।
आफूहरू लगातार माओवादीको ज्याजति खपेर बसेको बताउँदै बोहराले अब त्यो सह्यै नहुने बताउनुभयो । नागरिक अब सचेत भइसकेका उहाँको भनाइ छ ।




















