चितवन,१ बैशाख । यही वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले घरदैलो अभियानमा आफैं जुटन थाल्नु भएको छ। न्यौपानेको चुनावी प्रचारप्रसारका क्रममा गरेको घरदैलोमा स्थानीय मतदाताको उत्साहजनक साथ र सहयोग गरेको छ ।

यतिबेला उम्मेदवार न्यौपानेले भरतपुरका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ। घरदैलोका क्रममा न्यौपानेलाई मतदाताले आफ्ना समस्या राख्ने, गुनासो पोख्ने तथा आशिर्वाद दिने गरेका छन् ।

न्यौपाने र नेकपा एमालेको पक्षमा जनलहर बढ्दै गएको नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले बताउनुभयो। ज्ञवालीले भन्नुभयो, ‘अघिल्लो निर्वाचनमा अन्यत्रै मतदान गर्दा दुःख पाएका गुनासो मतदाताको रहेको छ, यसपटक सूर्यमा मतदान गर्दै रामप्रसाद न्यौपानेलाई जिताउँछौँ भन्दै घरदैलोमा स्थानीयको व्यापक सहभागिता बढ्दै गएको छ।’

340979779_1407063933375776_815759474697363059_n 1नियत खराब भएको व्यक्तिका कारण चितवनमा पुनः निर्वाचन गर्नुपरेको भन्दै ज्ञवालीले चितवनको माटो चिनेको र जनताको समस्या बुझेको उम्मेदवार रामप्रसाद न्यौपाने भएको बताउनु भयो । पहिले अन्यत्रै भोट हालेका मतदाताहरु यसपाली नेकपा एमालेमा नै फर्किसकेका ज्ञवालीले बताउनु भयो।

बिहीबारको घरदैलोका क्रममा एमाले उम्मेदवार न्यौपानेले भरतपुर–४ मा स्थापना गरिएको चुनाव प्रचार-प्रसार कार्यालयको उद्घाटन समेत गर्नुभएको छ। कार्यालयको उद्घाटन गर्दै न्यौपानेले अहिलेको अभियान देश बनाउने अभियान भएको बताउनु भयो । ‘यो अभियान हाम्रा सन्ततिहरुको भाग्य र भविष्य निर्माण गर्ने अभियान हो, एउटा सन्देश प्रवाह गर्ने अभियान हो,’ उहाँले भन्नुभयो, ‘यो अभियानमा हामी निरन्तर लाग्ने छौँ र हामी जित्ने छौँ।’

एमालेले जित्ने भनेको ज्येष्ठ नागरिक, युवासहित सबै नेपालीको खुसीको कुरा भएको न्यौपानेको भनाइ छ। एमालेले जित्ने कुरा सभ्य समाज निर्माण गर्ने कुरा भएकाले एमालेले जित्ने न्यौपानेले बताउनु भयो । न्यौपानेको घरदैलोका क्रममा स्थानीयले स्वास्थ्य, रोजगार, बाटोघाटोलगायतका विषयमा गुनासाहरु गरेका थिए ।

चितवनको सम्पूर्ण समस्याको बारेमा आफू जानकार भएको उल्लेख गर्दै न्यौपानेले आफूले जितेर गएमा चितवनका सबै समस्या समाधानतर्फ लाग्ने बताउनु भयो । चुनाव प्रचारप्रसारका क्रममा बिहीबार भरतपुरको वडा नं ३ र ४ मा उम्मेदवारसहित एमालेका नेताहरु घरदैलोमा पुगेका थिए ।