काठमाडौं,२  बैशाख  । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई नभइ आफैलाई धोका दिएको बताउनु भएको छ ।

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत आज हेटौँडामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले यस्तो तथ्य राख्नुभएको हो । उहाँले प्रचण्डले एमालेलाई नभई माओवादीलाई नै धोका दिएको र त्यसको परिणाम केहि समयभित्रै आउने बताउनु भयो ।

‘अहिले कतिपयले भन्ने गरेका छन, एमालेकै केही नेता कार्यकर्ताहरू पनि अन्योलमा छन कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई होइन, माओवादीले एमालेलाई होइन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केही समयमा नै माओवादीले थाहा पाउँछ,’ महासचिव पोखरेलले भन्नुभयो ।

एमाले महासचिव पोखरेलले माओवादी र कांग्रेसको नेतृत्वको सरकारले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने ठोकुवासमेत गर्नुभयो । माओवादी–कांग्रेस सरकारसँग अर्थतन्त्र सुधार गर्ने कुनै पनि कार्यक्रमहरू नरहेको भन्दै महासचिव पोखरेलले सरकारको कारण देशको अर्थतन्त्र डामाडोल बनेको बताउनु भयो ।

एमाले सरकारमा रहेको समयमा बजार ‘गुल्जार’ हुने बताउँदै पोखरेलले यथास्थितिवादी सोच भएका पार्टीहरू मिलेर निर्माण भएको सरकारले देशमा परिवर्तन गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको पछिल्लो हर्कतबारे कडा ब्यंग्य गर्नुभयो । ‘हिजो अरूलाई प्रश्न गरेर नथाक्नेहरू आज आफूलाई आएको प्रश्नको सामना गर्न नसकेर भाग्नु परेको छ, यस्ता शक्तिबाट जनताले के आशा गर्ने ?’ नेपालमा कहिलेकाहीँ ‘स्याल हुइयाँ’ चल्ने गरेको भन्दै उहाँले नयाँ राजनीतिक धारहरूबाट आशा गर्न सकिने ठाउँ नरहेको बताउनु भयो ।

‘पाँच वर्ष अघि काठमाडौंमा विवेकशील नामको एउटा राजनीति दलले मानिसहरूलाई केहि भ्रमित पारेको थियो, तर तिनै काठमाडौंका जनताले पाँच वर्षमा नै उनीहरूको जमानत नै जफत पारिदिएको दृश्य हामीमाझ छ नि,’ उहाको भनाई थियो ।

गत प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको एउटा क्षेत्रबाट कमल थापालाई उम्मेदवार बनाउनु आफूहरूको नेतृत्वको सरकारलाई लगाएको गुण र राजतन्त्र छाडेर गणतन्त्रलाई स्वीकार गरेर आउनु रहेको महासचिव पोखरेलको भनाई थियो ।

उहाँले चुनावको दिन पार्टीलाई मत नदिनेहरू पार्टीको संगठित सदस्य हुन नसक्ने भन्दै संगठित सदस्य बढाउने भन्दा पनि कटिबद्ध एमाले निर्माणको लागि मातहतका कमिटीलाई निर्देशन समेत दिनुभएको छ । कार्यक्रममा मिसन ग्रासरुटका हेटौडा महानगरपालिकाका कमाण्डर पार्वत गुरुङले एमालेलाई कसैले पनि पराजीत गर्न नसक्ने बताउनु भयो ।