चितवन,४ बैशाख । यही वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । न्यौपानेले चितवन २ मा पर्ने भरतपुरका सबै वडा तथा इच्छाकामना गाउँपालिकामा घरदैलो सकेर कालिका नगरपालिकामा घरदैलो गरिरहनु भएको छ ।
घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई स्थानीय मतदाताले अबीर, टीका र फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिएका छन । उनीहरुले चितवनमा अब मंसिर ४ दोहोरीन नदिने बताएका छन् । कालिकामा घरदैलोका क्रममा मतदाताहरुले केही गर्छु भनेर आएका नयाँ उम्मेदवारलाई मंसिर ४ मा आफूहरुले निर्वाचित गरेको भन्दै अब वैशाख १० मा भने युवा उम्मेदवार न्यौपानेलाई मतदान गर्ने बताए ।
‘मंसिरमा जिताएर पठाएको मान्छेको विवादास्पद विषयहरु सार्वजनिक भइरहेका छन,’ मतदाता भन्छन, ‘त्यस्ता विवादित मान्छेलाई अब हामी भोट हाल्दैनौँ, हाम्रो भोट युवा नेता रामप्रसादलाई जान्छ ।’ विद्यार्थी कालदेखि नै चितवनमा राजनीति गर्दै चितवनको माटोलाई चिनेको युवा उम्मेदवार न्यौपानेलाई चितवनले उम्मेदवार पाउनु खुसीको विषय भएको यहाँका मतदाताको भनाइ छ । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले जनताको विश्वासलाई गुम्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘मलाई यहाँका जनताको माया छ, स्नेह छ, प्रेम छ, त्यसैले म यहीँका जनताप्रति समर्पित रहनेछु,’ न्यौपानेले भन्नुभयो, ‘म सधैँ मतदाताप्रति ऋणी रहनेछु, आफ्ना मतदाताको हरेक दुःख, सुखमा साथ दिनेछु ।’ आफू निर्वाचित भएर गएपछि जनमैत्री ऐन, कानून निर्माणमा भूमिका खेल्नेसँगै यहाँका जनताहरुको स्वास्थ्य, शिक्षा, सडक, रोजगारलगायतका विषयमा काम गर्ने न्यौपोनले बताउनु भयो ।
नेकपा एमालेको चुनावी प्रचारका क्रममा आज कालिका नगरपालिकाको वडा नम्बर २, ३ र ६ मा घरदैलो कार्यक्रम गरिएको छ । घरदैलोका क्रममा चोकचोकमा स्थानीय मतदाताहरुले उम्मेदवार न्यौपानेको हौसला बढाउन फूलमालासहित स्वागत गरेका थिए । उम्मेदवार न्यौपानेले सम्भव भएसम्मका मतदातालाई घरमै पुगेर भेट्दै मत माग्दै आउनु भएको छ ।




















