काठमाडौं,२३ बैशाख  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अभियुक्तलाई बचाउन खोजेको भन्ने आफूमाथि लागेको आरोपमा सत्यता नभएको स्पष्ट पार्नुभएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार सिंहदरबारमा भएकाे भेटवार्तापछि सञ्चारकर्मीले साेधेका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष ओलीले आफू कसैलाई बचाउन लागेको भन्ने गलत हल्ला फैलाइएकाेमा असन्तुष्टि जनाउनुभयाे । उहाँले एमालेलाई नरुचाउनेहरुले, एमाले विराेधीहरुले अभियुक्तलाई बचाउन खोजेको भन्ने गलत हल्ला फैलाइरहेका बताउनुभयाे । 

'अस्ति पूर्व मन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे त्यसरी हराउँछन् र ? भन्नुभएको थियो, तर आज त टोपबहादुर रायमाझी हराउनुभयो, कहाँ हुनुहुन्छ उहाँ ? भन्ने सञ्चारकर्मीकाे प्रश्नमा ओलीले भन्नुभयाे - 'तपाइँहरुले खोज्नुस् न ।'  तपाइँको सम्पर्कमा त हुनुहुन्छ होला नि ? भन्ने प्रश्नमा सञ्चारकर्मीकाे अर्काे प्रश्नमा ओलीकाे जवाफ थियाे - 'मेराे सम्पर्कमा हुनुहुन्न ।' उहाँ अब कहिले आउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भन्नुभयाे - 'उहाँलाई नै सोध्नुस् न ।'

तपाइँ अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ, के भन्नुहुन्छ ? भन्ने सञ्चारकर्मीकाे अर्काे प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयाे - 'तपाइँहरुलाई विश्वास लाग्यो त्यस्ताे कुरा ? केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन्, उनीहरूले हल्ला फैलाएका हुन् ।'सनराइज खबरबाट