काठमाडौं , १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताएका छन् । आइतबार बिहान भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको र त्यसका लागि समाजवादी मोर्चा बनाएर वाममपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि उनले बताए । त्यसका लागि समाजवादी मोर्चा बनाएर वाममपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बताए ।
‘अहिले कमरेड माधवकुमार नेपाल, म लगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादवसमेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरेका छौँ । माधवजीले पनि र मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ’, उनले भने ।
उनले कम्युनिस्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै कम्युनिस्टहरूलाई एकतावद्ध गरेको बताए । उनले सबै कम्युनिस्टहरूले आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।




















