काठमाडौं– सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेका छन् ।
‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेटको हामीलाई थाहा छैन । रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन’ बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले भने ।
केही बानी परेकाहरुले भेटेको भए त्यो आफूहरुलाई थाहा हुने कुरा नहुने भन्दै उनले भने, ‘प्रधानमन्त्रीले भेटघाट गरेका छैनन् । सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ । जस जसलाई भेट्ने बानी छ उनीहरुले भेटे होलान् ।’
उनले कसैलाई भेट्दैमा उसको पक्षधर भइनहाल्ने पनि बताए ।
‘फेरि भेट्नै नहुने भन्ने पनि हैन । जसलाइ भेट्यो त्यही बन्ने भन्ने पनि हैन नि’ उनले भने, ‘फ्रान्सको आउलन, त्यसलाइ भेट्दा त्यही हुने, कहिले चाइनाको आउलान्, उसलाइ भेट्दा त्यही बन्ने भन्ने त हुँदैन नि ।’
शनिबार नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर प्रमुख गोयल प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुलाई भेटेर सोमबार स्वदेश फर्किएको सञ्चारमाध्यममा समाचार आएका थिए ।
सो क्रममा मन्त्री बाँस्कोटाले बिआरआई अन्र्तगतका योजनाहरु अगाडि बढिरहेको पनि दावी गरेका छन् ।
‘कनेक्टीभिटी, समग्र विकास, अन्तराष्ट्रिय पहुँच बनाएको चीन र क्षेत्रिय शक्तिका रुपमा रहेको भारतसँग लाभ उठाउन ढिला भएकै हो । तर अहिले कामै नभएको भन्ने होइन । बीआरआइको प्रोटोकलमा हस्ताक्षर भएको छ । बर्षौदेखि अघि नबढेका कामहरु यो सरकार आएपछि भएको छ’ मन्त्री बाँस्कोटाको दावी छ ।
प्रकृतिसँग पनि विजय गर्नुपर्ने जस्तै चिज भएको भन्दै केरुङ वा ट्रान्स हिमालय क्रस गर्ने कुरा सामान्य नभएको बताए ।
‘प्रारम्भिक सर्भेहरु भएका छन् । तर समय लाग्छ । सम्बन्धीत मन्त्रालय र मन्त्रीहर निरन्तर काममा लागिरहनुभएको छ’ मन्त्री बाँस्कोटाले स्रोत साधन जुटाउने कुरा भएकाले विआरआई अन्र्तगतका काम विस्तारै अघि बढ्ने बताए ।
उनले त्यस परियोजना अन्र्तगतका आफ्ना योजनाहरु सम्पन्न गर्न अनुदानमा मात्रै भर पर्न पनि नहुने भएकाले केही प्रतिशत लगानी गर्नुपर्ने बताए ।


