काभ्रे — भकुण्डेबेसी प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठ एक युवतीसँग होटलको कोठामा भेटिएपछि उनीमाथि छानबिन सुरु भएको छ।

आइतबार राति काभ्रेको पाँचखाल घर भएकी एक युवतीसँग नमोबुद्ध बजारस्थित ‘होटल नमोबुद्ध’ मा बसेको अवस्थामा स्थानीय युवाहरूले सई श्रेष्ठलाई फेला पारेका थिए। मध्यरातमा होटलको कोठाको ढोका खोल्न लगाएर उनीहरूसँग सोधपुछ गर्नुका साथै स्थानीयले भिडियोसमेत खिचेका थिए। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा समेत प्रसारित भइरहेको छ।

प्रहरी स्रोतका अनुसार सई श्रेष्ठसँग भेटिएकी युवती गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अस्थायी निर्वाचन प्रहरी (म्यादी प्रहरी)का रूपमा भर्ना भएकी थिइन्। सो निर्वाचन प्रहरीको छनोट प्रक्रियामा सई श्रेष्ठसमेत खटिएका थिए। सोही क्रममा उनीहरूबीच चिनजान भएको र त्यसपछि सम्बन्ध कायम भएको स्थानीयको दाबी छ।

घटना सार्वजनिक भएपछि आवश्यक छानबिनका लागि सई श्रेष्ठ र ती युवती दुवैलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा झिकाइएको छ। प्रहरीले घटनाबारे थप प्रशासनिक छानबिन अघि बढाएको जनाएको छ।