काठमाडौं—उपसभामुख रुबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। जनआस्था साप्ताहिकमा आफ्नोबारेमा गलत समाचार प्रकाशित गरेको भन्दै ठाकुरले जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिएकी हुन्।
श्रेष्ठलाई दीपिका सिंहको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्च अदालतले हालै श्रेष्ठलाई हिरासतमुक्त गरी थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि ठाकुरको सचिवालयका व्यक्तिहरू जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेका थिए। जाहेरीमा प्रकाशित समाचारले आफ्नो इज्जत र प्रतिष्ठामा अपूरणीय क्षति पुर्याएको दाबी गरिएको छ।
जाहेरीमा ठाकुरले संवैधानिक पदमा रहेकी आफूविरुद्ध प्रकाशित सामग्री प्रतिनिधिसभाको गरिमा र मुलुककै प्रतिष्ठामाथिको आक्रमण भएको उल्लेख गरेकी छन्।
ठाकुरले जाहेरीमा दीपकजङ्गलाई आफूले रक्षाबन्धन बाँध्दै आएकोसमेत उल्लेख गरेकी छन्।




















