' पौराणीक शिक्षा र वरालीएको हाम्रो गन्तव्य '

----------------------------------------------------------------  पुरुषोत्तम पौडेल 

अनेकौ तन्त्र मन्त्र सहित एक लाख श्लोकले भरिपूर्ण महाकाव्य महाभारत एऊटा सामान्य धार्मिक ग्रन्थ मात्र होईन ।महाभारतको कथा अनेकौ ज्ञान-गुण, संस्कार-संस्कृति र सहस्र विचारधाराको श्रोत पनि हो । महाभारतको कथामा हामी कयौ जीवन उपयोगी प्रसंगहरू पढ्न र सुन्न पाऊछौ । श्रीमदभागबत गीता आफैमा अद्भुत ज्ञानको भण्डार हो । महाभारतकै अङ्ग भिष्म निती र विदुर निती स्वयम ईमान र स्वच्छ राजनीतिका आधार हुन सक्छन । यक्ष प्रश्नमा यक्ष द्वारा सोधिएका एकसय आठ प्रश्न र युधिष्ठिरले दिएका उत्तरका शन्दर्भहरूले त झन मानवीय मुल्य मान्यता, मनुष्यका अनेक सम्वन्धहरू र हाम्रो समाजको गतिशिलताकै वारेमा पनि निस्चीत सोच र दृष्टिकोण समेत दिई रहेको देखीन्छ ।

महाभारतको कथा अनुसार पाण्डवहरू १४ वर्ष वनवासमा थिए । बनबासमा भएको अवस्थामा हिड्दा हिड्दै थाकेर द्रौपदीलाई तिर्खा लाग्यो । महाराज युधिष्ठिरले तिर्खाएकि द्रोपदीलाई पानी लिन भनेर भाई सहदेवलाई पठाए । उनी निकै वेर सम्म फर्केर आएनन । त्यसपछि भाई नकुललाई पठाए । उनी पनि उतै हराए । पालैपालो सवै भाइहरूलाई पानी लीन पठाए । पालैपालो गएका सहदेव, नहकुल, अर्जुन, भिमसेन सवै भाइहरू फर्केर आएनन ।

सवै भाईहरू न आए पछि युधिष्ठीर चिन्तित भए । चिन्तामा डुबेका युधिष्ठिर आफै उठेर गए । केही पर गएपछि उनी एउटा तलाउमा पुग्दछन । त्यहाँ उनका चारै जना भाइहरूको निर्जीव शरीर पृथ्वीमा ढलिरहेको हुन्छ । उनी आफै पनि पानी तिर्खाले खरिएका हुन्छन । उनी पानी खाएर भाइहरूको दुरावस्थाको कारण बुझ्नु पर्यो भनेर पानी खान तयार हुन्छन । ठिक यसै वेला युधिष्ठिरको ध्यान यक्षको आकाशवाणीले तान्दछ । यक्षले उनको प्रश्नको जवाफ नदिइकन पानी खाए उही परिणाम हुने चेतावनी दोहोर्याई रहेका हुन्छन ।

युधिष्ठीर तिर्खा लागेकी द्रौपदीलाई एक्लै छोडेर पोखरो तिर आएका हुन । आफै तिर्खाले परेसान पनि छन । पानी लिन आएका चारै भाईहरूको प्राण हिन शरिर आफ्नै अगाडी ढलि रहेको छ । आफ्नै अगाडी रहेको खुल्ला पोखरीको पानी खाऊ भन्दा आकाशवाणीवाट चेतावनी आऊछ । यस्तो विषम परिस्थितिमा सामान्य मान्छेले धैर्य गुमाउँन सक्छ । चरम आबेग प्रस्तुत गर्न सक्दछ । आक्रोशित भएर भौतिक आक्रमण तिर लाग्न पनि सक्दछ । कमजोर व्यक्ती भए त रुन, कराउन, चिच्याउन समेत थाल्दछ ।

चक्रवर्ती सम्राट युधिष्ठिरले त्यस्तो केही गरेनन । उनमा हस्तिनापुरको राजपरिवारको दम्भ र आफु बलवान भएको घमण्ड केही पनि देखिएन । उनी सविनय दुवैहात जोडेर प्रश्नको जवाफ दिन प्रयत्न गर्ने कुरा गर्दछन् । यक्षको भेषमा आएका धर्मराजले युधिष्ठिरलाई करिब एक सय आठवटा प्रश्नहरु सोधेका रहेछन । युधिष्ठिरले सवै प्रश्नहरूको यथार्थ र तर्कपूर्ण जवाफ दिए । युधिष्ठिरको जवाफले यक्षको रूपमा आएका धर्मराजलाई सन्तुष्ट वनाऊछ । अनी आफ्ना सवै भाईहरूलाई जीवन दिन लगाएर साथमा लैजान सफल हुन्छन । युधिष्ठिरको धैर्यता, ज्ञान र विवेकले काम गर्दछ ।

यक्षले युधिष्ठिरलाई सोधेका प्राय सवै प्रश्न र युधिष्ठिरले दिएका तर्क पूर्ण उत्तरहरू चर्चा योग्य हुन्छन । तर पनि यहा केवल दुईवटा प्रश्न र युधिष्ठिरका उत्तरलाई अहिलेको शन्दर्भमा चर्चा गर्न खोजिएको छ । यक्षले त्यती खेर सोधेको एउटा प्रश्न यस्तो छ । " कतिखेर रास्ट्रको मृत्यु भएको मानिन्छ " ? युधिष्ठिरले जवाफ दिन्छन -" जब एउटा रास्ट्रमा "अराजकता " हाबी हुन्छ । त्यतीखेर राष्ट्रको मृत्यु भएको मानिन्छ "। वास्तवमा अराजकता आज पनि एउटा संगठित राज्यलाई समाप्त पारिदिने नकारात्मक प्रविर्ती हो । अराजकताले चाहे आम नागरिकमा अड्डा जमाओस या शासक हरूको उपरी ढाचामा घर गरोस । अराजकता यस्तो चिज हो जस्ले राज्यलाई ध्वस्त वनाई दिन्छ ।

राष्ट्रलाई निती, विधि र संस्कारले एक शुत्रमा वाधेर राखेको हुन्छ । निती-विधी, संस्कार तथा परम्परा विनाको राज्य अराजकता तिर जान्छ । विधि-विधान र निस्चीत मापदण्डले मात्र राज्यलाई जनतामा स्थापित गरेको हुन्छ । राज्य संचालन र न्याय सम्पादनको विश्वास योग्य संहिता र त्यसको कार्यान्वयन वेगर जनताको विश्वास पाई रहन सकिन्न । जनताको विश्वास र भरोसा नभएको राज्य मृत प्राय हुन्छ ।

आजको समाजको शन्दर्भमा हेर्ने हो भने पनि संविधान, कानुन र परम्पराले समाजलाई डोर्याई रहेको हुन्छ । यदी हामीले संविधान तोड्न थाल्यौ । कानुनलाई आफ्नो अनुकूल व्याख्या गर्न र संशोधन गर्न थाल्यौ अनी परम्परा र संस्कृति पनि मान्दैनौ भनेर जथाभावी गर्न थाल्यौ भने देश स्वतः अराजकताको भुमरीमा जाकीन पुग्दछ । महाभारत कालमा सोधिएको यक्ष प्रश्न र युधिष्ठिरको जवाफ कति सटिक छ ।अशल शासकहरूले सहजै सिक्न सक्दछन र राज्यलाई अराजकता तिर जानबाट जोगाउन सक्दछन ।

एवम रितले यक्षका सवै प्रश्नहरूको युधिष्ठिरले सुन्दर जवाफ दिए । सवै प्रश्नको जवाफ सुनेपछि यक्षले युधिष्ठीरलाई भने " तिमीले मेरा सबै प्रश्नहरूको उत्कृष्ट जवाफ दियौ । तिम्रा जवाफहरूवाट प्रशन्न भए । अब म तिम्रा एकजना भाई लाई जीवित बनाई दिन्छु । भन कुन चाही भाइ रोज्दछौ " ? युधिष्ठिरले भने ' मलाई मेरो भाई नहकुलको जीबनदान दिनुहोस ' । युधिष्ठिरको कुरा सुनेर यक्ष छक्क परेर भने " तिमीले चाँडो भन्दा चाडो कौरवहरू संग भयानक युद्ध लड्नु पर्नेछ । तिमीलाई धनुर्धर अर्जुन वा महावली भिमसेनले युध्दमा बिजयी गराऊन सक्छन । तथापि तिमी पराक्रमी भिमसेन र धनुर्धर अर्जुन लाई वचाऊन छोडेर नहकुल रोजी रहेका छौ " ? धर्म, सत्य, र न्यायका प्रतीमूर्ती युधिष्ठिर भन्दछन " मेरा कुन्ती र माद्री दुईवटी माताहरू हुनुहुन्छ । म माता कुन्तीको जेठो छोरो भएँ र नहकुल हुँदा माता माद्री को जेठो छोरो हुन्छन । मैले युद्द लड्नु छ भनेर भीमसेन वा अर्जुनलाई रोजे भने माता माद्रीलाई अन्याय पर्न जान्छ । तसर्थ मैले भाई नहकुललाई वचाउदा नै न्याय हुन्छ ।

युधिष्ठिरको सत्य र न्याय प्रतिको दृढ प्रतिज्ञा देखेर यक्ष प्रसन्न हुन्छन । उनी प्रशन्न मुद्रामा भन्छन " हे राजन ! तिम्रो महान सोचबाट म नतमस्तक भए । म धर्मराज हुँ । म तिमीलाई बिजयको आशीर्वाद दिन चाहन्छु । म तिम्रा सबै भाइ हरूलाई पनि पुनर्जीवन दिन चहान्छु । यसको वडो सुन्दर शन्देश छ । राज्य सञ्चालन गर्ने व्यक्तीको सोच कस्तो हुनु पर्छ । लोभ, मोह र स्वार्थलाई त्याग्नु भनेको के हो ? के राज्यको उपरी ढाचामा वस्ने व्यक्तीले मनपरी गर्न पाऊदछ ? के लोकतन्त्रमा सरकार चलाउनेले जनता भाडमा जाऊन भन्दै आफ्नो जोहो गरेर वस्न पाऊछन त ? जनताको मत लिएर गएका नेताहरूले आफु र आफ्नाका लागी मात्र काम गर्नु जायज हुन्छ र ? यी आजका यक्ष प्रश्न हुन । निस्चीत रूपमा त्यसो गर्न पाईदैन । जनताका असली शासक विवेकी क्षमाशिल हुनु पर्दछ । जनतालाई निष्पक्षता र न्यायको अनुभूति गराउन सक्नु पर्दछ । राष्ट्रलाई अराजकतावाट जोगाऊने यो मुख्य कडी हो ।

अहिले हामी जे जसरी चलि रहेका छौ । यहि तरीकाले चलिरहने हो भने जनताले यक्ष प्रश्नहरूको उत्तर पाउदैनन । सामाजिक न्याय सहितको समाजवादको निर्माण पनि सपनी मात्र हुन्छ । समाजको आमुल परिवर्तन तथा मानविय आवस्यकताहरूको पूर्ती केवल चहाना मै सिमीत हुनेछ । वडो चिन्ताको विषय छ । संघर्ष, त्याग र वलीदानका निकै लामा र तिलस्मी कथा सुनाएर केवल आफन्त र नाता कुटुम्वहरू पोसी रहेका मात्र हुनेछौ । जनता प्रती समर्पणका कुरा गरेर ठालुहरू संग आराम गर्न वसी रहेका हुनेछौ । कम्युनिष्ट पार्टीको माला जपेर दलाल पुँजीपतिहरूको सेवागर्ने काम गरि रहेका हुनेछौ ।

गरिव किसानहरूको माला जप्दै ठालु पुँजीपतिहरूलाई लुटाई रहेका हुनेछौ । मजदुरहरूको हितको लागी भन्दै नवउदारवादका पृष्टपोषकहरूको सेवा गरि रहेका हुनेछौ । किसानका लागी लक्षित क्रान्तिकारी भूमिसुधार कार्यक्रम छाडेर भूमी वैकको व्यवस्था गर्न तिर लागेका छौ । यस्तो खाले राजकिय गतिविधिले देशको उत्पादन सम्बन्धमा कुनै परिवर्तन ल्याऊन सक्दैन । वरू देशलाई अविश्वास र अराजकता तिर धकेलि रहेका हुनेछौ । यसर्थ हाम्रो चालु गन्तव्य ' कामकुरो एकातिर कुम्लो वोकी ठिमी तिर ' जस्तो भएको छ । अझै समय वाकी छ । हामीले गम्भीर चिन्तनका साथ निर्धारीत गन्तव्य पहिल्याउनु उचित हुन्छ । समाजवाद उन्मुख आर्थिक सामाजिक कार्यक्रम कार्यान्वयन तिर जानुको विकल्प छैन । सिकौ र सच्याऔ ।