लेनिनले कम्युनिष्ट पार्टी संचालनको बिधि र सिद्धान्त प्रतिपादन गरेका हुन । त्यसै सिद्धान्तको आधारमा हरेक देशका कम्युनिष्ट पार्टीहरु सञ्चालित, परिचालित हुने गरेका छन् । त्यही संगठनात्मक सिद्धान्त वा विधिलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ ।
क. लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तभन्दा उन्नत र वैज्ञानिक बिधिको आजसम्म विकास हुन सकेको छैन । जसको कारण यसको महत्त्व र गरीमा झनै बढेको छ । यस सिद्धान्तले कम्युनिष्ट पार्टीको संगठन संचालन बिधि र क्रान्तिकारी मान्यतामा जोड दिएको छ ।
लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयता सम्बन्धि विषयमा माैलिक व्याख्या सहित दृढ कार्यान्वयनमा जोड दिन्छ । यसलाई सदस्यहरुको अनुशासनको रुपमा समेत हेर्ने गरिएछ । अत: लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको बिधि निम्नानुसार छ :
१. व्यक्ति संगठनको अधिनस्थ हुन्छ ।
२. अल्पमत बहुमतको अधिनस्थ हुन्छ ।
३. तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ।
४. पार्टीका सम्पूूूूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् ।
५. केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ।
लेनिनवादी संगठनात्मक सिद्धान्तक अनुरुप कम्युनिष्ट पार्टीका सदस्यहरुले निश्चित शर्तहरु पालना गर्नु पर्छ । सदस्यहरुले फलामे अनुशासनमा रहेर पार्टीले तोकेको जिम्मेवारी बहन गर्नु पर्दछ । साथै पार्टीको सदस्यका लागि न्युनतम् शर्तहरु यस्ता रहेकाछन्
१ पार्टीको नीति तथा कार्यक्रम मान्ने ।
२ पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने ।
३ पार्टीलाई नियमित लेबि तिर्ने ।
लेनिनवादी संगठनात्मक सिद्धान्तका तीन आधारहरु :
१. जनवादी केन्द्रीयताः
यो लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो सर्त हो । यसमा मुख्य दुईवटा कुराहरु रहेका छन्, जनवाद र केन्द्रीयता । यस सिद्धान्तले जनवादबिना केन्द्रीयता निरंकुश हुने र केन्द्रीयताबिना जनवाद अराजकतावादमा जाने विषयमा जोड दिन्छ । कम्युनिष्ट पार्टीको संगठनमा यी दुबै सिद्धान्तको समान महत्व हुन्छ ।
केन्द्रीयताबिना पार्टी संगठनहरु ठीक ढंगले परिचालित हुँदैनन्, किनकी केन्द्रीयता भनेको कम्युनिष्ट पार्टीको अनुशासनको महत्त्वपूर्ण पाटो हो । स्वतन्त्रताको माग गर्दा अनुशासनको पालना हुनुपर्छ, भने केन्द्रीयताको प्रश्नमा जनवादको प्रयोग जरुरी हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीमा व्यक्ति सधैं संगठनको मातहतमा रहन्छ भने बहुमतको निर्णय विनाशर्त लागू गरिन्छ भने अल्पमतको सम्मान गरिन्छ।
२. आत्मालोचना र आलोचनाको सिद्धान्तः
कम्युनिष्ट पार्टीमा पार्टी सदस्यहरुले आफ्ना कमजोरी र समस्याहरुको आफैले समिक्षा गरेर बैठकमा बताउँने विधिलाई आत्मालोचनाको सिद्धान्त भनिन्छ । आफ्ना कमजोरीहरु नदोहोर्याउने र असल कम्युनिष्ट सदस्य बन्ने प्रतिवद्धता गर्नु पर्छ । यस सिद्धान्तले पार्टी, संगठन, नेता र कार्यकर्ताहरुको कमजोरी आलोचनाको बिधिबाट सुधार्न सकिन्छ भन्ने मान्नेतामा यसले जोड दिन्छ । आलोचना गर्दा सत्रुतापूर्ण नभई मैत्रीपूर्ण आलोचना गर्नु पर्दछ जसले कमजोरी सुधार्नका लागि उत्प्रेरणा पैदा गर्छ ।
३. सक्षम नेता चुन्ने विधिः
हरेक कम्युनिष्ट पार्टीका सदस्यहरुले संगठनत्मक सिद्धान्तको पालना अनिवार्य गर्नुपर्छ । त्यसअन्तर्गत सक्षम नेता छान्ने विधि समेत पर्दछ । असल, मर्यादीत र सभ्य समाज निर्माण गर्नका लागि पार्टी संगठनमा असल सोच र आचरण भएका नेताहरु चयन हुनुपर्छ साथै नेतृत्व चयन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्छ :
१ इमान्दारीता
२ सक्रियता वा निरन्तरता
३ समर्पित भावना
४ रचनात्मक क्षमता वा कार्यदक्षता
लेनिनवादी संगठनात्मक सिद्धान्त अन्तर्गत जनवादी केन्द्रीयता, आलोचना र आत्मालोचना, नेतृत्व चयनको विधिको सन्तुलनकारी भूमिका हुन्छ। लेनिनवादी संगठनात्मक सिद्धान्त बिना कुनैपनि कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी, प्रजातान्त्रीक र अनुशासित बनाउन सकिदैन । हरेक पार्टी सदस्यले जनवादी केन्द्रीयताको बिधि पद्धति बुझ्नु र अनुसरण गर्नु पर्दछ ।




















