कुनै समय थियो केपी शर्मा ओलीको बोलीलाइ समग्र नेपाली जनताले ध्यानपुर्वक सुन्ने गर्थे , अरु त अरु वहाँमा विरोधीहरु समेत वहाँको दृढता र अडान देखेर नतमस्तक हुने गर्थे । यो सत्य वहाँ प्रधानमन्त्री हुनु अगाडीकै हो अनि जव पहिलो पटक प्रधानमन्त्री हुनु भयो तव त भारतले लगाएको नाकावन्दीको सामनामा वहाँले देखाउनु भएको दृढताले वहाँलाइ राष्ट्रको अत्यन्त सम्मानित नेता नै बनायो जसको परिणाम वहाँले नेतृत्व गर्नु भएको दलले सवै भन्दा धेरै सिट ल्यायो भने वहाँ सहितको नेतृत्वको गठबन्धनले अत्याधिक वहुमत ल्यायो अनि त्यस वहुमतको जगमा वहाँले अनेकन गरेर अरु केहि थप समर्थन जुटाएर दुई तिहाई वहुमत बनाउन सफल हुनु भयो ।
वहाँ सहितको नेतृत्व रहेको गठबन्धनको सरकारले जनतामा एउटा ठुलो लहर र उत्साह आयो । जनतालाइ लाग्यो कि अत्यन्त मिजासिला , दृढ अडान भएका केपी ओलीको नेतृत्वको सरकारले जनताको मन छुने एक पछि अर्को काम गर्दै जानेछ । वहाँको विगतका शैली र प्रस्तुती अनि वहाँ सहितले बनाएको चुनावी घोषणापत्रमा उल्लेखित कार्यक्रमहरु हेर्दा पक्कै केहि हुन्छ भन्ने आशा गर्नु बेठिक थिएन । अनि जव वहाँले रेल मार्ग देखि पानिजाहजमा पहुँच समेतको कुरा गर्नु भयो केहिले खिसीट्युरी गरे पनि धेरैले ठाने हैन बल्ल केहि हुन थालेको छ । तर समय क्रमसंगै धेरै काम हुनै सकेनन अनि जे जति भए त्यस्ता कामहरुमा पनि भ्रष्टचारको गन्धहरुको अनुमान हुन थाल्यो , कतिपयमा त सप्रमाण वाहिर पनि आए । यद्धपी यति हुँदा पनि अहिलेसम्म पनि प्रधानमन्त्रीको आर्थिक इमान्दारितामा शंका गरिएको छैन है , जनताले अझै भन्ने गर्छन कि हेत्तेरी प्रधानमन्त्री ओली त राम्रै हुन वहाँका मन्त्री अनि सल्लाहकार गतिलो भएनन । जनताको विकास , सुशासन र सम्वृद्धिको सपनाले अपेक्षित रफ्तार लिन नसकेको भए पनि केपी ओली नेतृत्वको पार्टी र त्यसको निर्देशनमा सरकारले राष्ट्रवादी छवि चाहिं निरन्तर बनाएकै थियो । भारतले नेपाली भूभाग समेटेर नक्सा जारी गर्ने मात्रै नभएर नेपाली भूमिमा सडकनै बनाउने काम गरे पछि नेपाली जमिन समेटेर नया नक्सा बनाउने देखि त्यसको पक्षमा अटल भएर प्रतिरक्षा गरिरहने काम भएकोले नेपाली जनतामा नेकपा र त्यसको निर्णयले प्रधानमन्त्री बन्नु भएका केपी ओली प्रति सम्मान अझै बाँकी नै छ ।
तर दुःखका साथ आज लेख्नै पर्छ कि निरन्तरको संघर्ष , त्याग र वलिदानले निर्माण गरेको केपी ओलीको त्यो लोभलाग्दो व्यक्तित्व आज दाउमा लागेको छ , अनि वहाँ समेतको दुखले बनेको तत्कालिन एमाले र त्यो समेत मिलेर बनेको नेकपा आज केपी ओलीकै कारण टुक्रिएको छ । यसो भन्दै गर्दा कतिपयले तर्क गर्नु हुनेछ “ यो अवस्थाको एक्लो जिम्मेवार केपी ओली मात्रै हो ?” अनि “ के केपी ओलीलाइ यो सवै गर्ने वाध्यता थिएन ?” , वहाँहरुको तर्क पनि केपी ओलीको वर्तमान कदमको समर्थनमा आएका हैनन वहाँको विगतको सम्मानले गर्दा आएका हुन । होला केपी ओलीलाइ अप्ठेराहरु थिए होलान , वहाँले भने जस्तै अनि केहि मानिसहरुले माने जस्तै वहाँलाइ बाध्यता पनि थियो होला । तर के ति कारणहरु र बाध्यताहरु संविधान मिच्न र लोकतन्त्रको गला घोटन तयार बनाउने खालका थिए ? के पार्टी भित्रको सन्तुलन मिलाउन नसक्नुको सजायँ जननिर्वाचित संसदलाइ दिन मिल्छ ? के केपी ओली जत्तिको संवैधानिक सर्वोच्चताको वकालत गर्ने मानिसले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्न पाउनु हुन्छ ? के त्यो छुट छ वहाँलाइ ? किमार्थ छैन । त्यति मात्रै हैन , वहाँले भन्ने गर्नु भएको जस्तो पार्टी भित्रबाट वाहाँलाइ सरकारको नेतृत्व गर्न , गरिरहन र गरिरहँदा जनहितको काम गर्न कुनै बाधा गरिएको थिएन भन्ने त दस्तावेजले बोल्छ , तथ्यहरुले बोल्छ ।
धेरै टाढा जानु नै पर्दैन संख्यात्मक हिसावले वहाँ अल्पमतमा रहनु भएको पार्टी स्थायी समितिले भदौमा मात्रै वहाँलाइ पूर्ण कार्यकाल प्रधानमन्त्री हुन दिने र अध्यक्ष पनि रहन दिने भनेर निर्णयनै गरेको तथ्य त कसैलाइ झुठो हो भन्न सक्दैन नि ! अनि केपी ओली र प्रचण्डले पाँच वर्ष मध्य आधा आधा समय प्रधानमन्त्री हुने सहमतिमा दस्तखत गरेका हैन ? अनि त्यसरी दस्तखत भएको भए पनि केपी ओलीलाइ आधा हैन पुरै तपाईं चलाउनुस भनेर दस्तखत गरेरै दिने प्रचण्ड हुन भन्ने पनि त तथ्य नै हो । त्यसभन्दा पनि अर्को तथ्य के हो भने लामो राजनीतिक जीवनमा आफु अल्पमत वा वहुमत जेसुकै हुँदा पनि वैठकमा सामेल हुने , त्यसको निर्णयमा सहमति वा विमति राख्ने तर अर्को निर्णय नहुन्जेल भएको निर्णय कार्यन्वयन गर्न लाग्ने नभए पनि त्यसको वार्खिलाफमा देखिने गरेर नजाने आफ्नो परिचय समेतलाइ धुलिसात पार्ने गरेर वैठक देखि डराउने , वैठकका निर्णय नमान्ने समेतको काम केपी ओलीबाट भएको देखियो । नेकपाका कार्यकर्तालाइ मात्रै हैन त्यसका समर्थक शुभेच्छुकलाइ पनि ताजुब लागेको छ आखिर किन प्रधानमन्त्री केपी ओलीले आफुले दुख र मेहेनतले निर्माण गरेको इतिहासलाइ नै प्रहार गर्न तम्सिनु भयो ? आखिर किन वहाँले आफ्नो पार्टीका कमसेकम स्थायी समितिले आफ्नो राजनीतिक हत्या गर्ने निर्णय गर्न सक्दैन भन्ने सत्य भुलेर आफैं आफ्नो राजनीतिको आत्महत्या गर्न तम्सिनु भयो ? किन संसद विगठन नगर्ने आफ्नै घोषणाको वार्खिलाफ गएर संविधानले दिंदै नदिएको अधिकार प्रयोग गरेर संसदलाइ अकाल मृत्युको सीकार बनाउनु भयो ? के त्यस्तो आपत आइलाग्यो कमरेड ? यो त याहाँको विरोधीहरुले मात्रै हैन समर्थकले पनि बुझ्न सकेको छैनन ।
बुझुन पनि कसरि ? हिजोसम्म केपी ओलीलाइ आदर्श मान्ने , मन वचन र कर्मले वहाँको सफलतामा खुसि हुने अनि वहाँको सरकारको स्थाइत्वको कामना गर्नेहरु आज वहाँको सरकारलाइ मुर्दावाद भन्न बाध्य भएका छन । रहर त थियो नि उनीहरुको कि केपी ओली साँचो अर्थमा राजनेता भएको देख्ने , चाहना त थियो होला नि उनीहरुको केपी ओलीले संविधान र कानुनको दयारामै रहेर आफ्नो कार्यकाल पुरा गर्नु भएको हेर्ने , तर विडम्वना आज केपी ओलीलाइ काँध राखेर हिडनेहरु आज मुटु माथि ढुंगा राखेर वहाँको विरुद्ध नारा लगाइरहेका छन , लगाउन बाध्य भैरहेका छन । उनिहरुलाइ गार्हो छ , पिडा छ । एकातिर आफुले सदैव मानेको केपी ओलीलाइ सधैं उस्तै सम्मान गर्न मन छ अनि अर्को तर्फ केपी ओली समेतको नेतृत्वमा आफुहरु समेत सहभागी भएर ल्याएको व्यवस्था र त्यसको जगमा आफ्ना प्रतिनिधिले बनाएको संविधानलाइ रक्षा गर्नु पर्ने बाध्यता छ । अनि फेरी पनि दुखका साथ भन्नु परेको छ कि जनताले बनाएको त्यो संविधानमा हुँदै नभएको अधिकारको प्रयोग गर्दै जनताले निर्वाचित गरेको संसदलाइ केपी ओलीले असंवैधानिक ढंगले विगठन गर्नु भएको छ , अनि त्यसको विरोध गर्नै पर्नेछ । विडम्वना आफ्नै कार्यकर्ताहरुको यो वाध्यता केपी ओलीले बुझ्न सक्नु भएको छैन , थाहाछैन किन वहाँ संविधानको गला घोटन बाध्य हुनु भयो अनि किन तयार हुनु भयो आफ्नै कार्यकर्तालाइ रुवाउन । खैर जे होस यति फेरी पनि भन्नै पर्छ “सच्चिनुस प्रधानमन्त्रीज्यु , मुटु माथी ढुंगा राखेर याहाँको गलत कदमको विरोध गर्नै परेको कार्यकर्ताको चित्कार सुन्नुस”




















