✍️ दामोदर अर्याल


समसामयिक विषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार अभिव्यक्त गर्दै आएका नेकपा (एमाले) का युवा नेता दामोदर अर्यालले प्रधानमन्त्री केपी ओलीले गर्नु पर्ने कुराहरु नगरी अन्यत्र काम गरेको ब्यक्त गरेका छन ।

(१) प्रधानमन्त्री हुने बित्तिकै देशको वास्तविक अर्थिक अवस्था खुलस्त जनता समक्ष राख्दै हामी ठुला र मेघा प्रोजेक्टहरु संचालन गर्न सक्दैनौ, स-साना अत्यावश्यक कामहरुबाट मुलुकको आर्थिक अबस्थामा परिवर्तन ल्याउन कोसिस गर्छौ भन्नू पर्दथ्यो । र तदनुकुलकै योजना अगाडि बढाउनु पर्दथ्यो । तर उनले रेल,पानी जहाँज र घरघरमा ग्यासको पाइपलाईन जस्ता उडन्ते गफ गर्न थाले । फलस्वरुप जनतामा उनी प्रतिको बिश्वासमा कमि हुन थाल्यो ।

(२) भ्रष्टाचारमा शुन्य शहनशिलताको नीति अख्तियार गर्नुपर्दथ्यो । तर उनले आफ्नाले गरेको भ्रष्टाचारमा सात खुन माफको नीति अबलम्बन गरे । जस्ले गर्दा बिगतमा भएका अनियमितताको समेत छानबिनगर्ने नैतिक अधिकार उनमा रहेन । फलस्वरूप मन्त्री सचिवहरु समेत लखनौ लूटमा उत्रिए ।

(३) साना आयोजना तर समयमै सम्पन्न गर्ने नीति लागू गर्नु पर्दथ्यो । यस्तो नहुदा, भिमकाय आयोजनाको घोषणा हुनु,DPR तयार नभै शिलान्यास गर्नु, आयोजनाका लागि प्रयाप्त साधनस्रोतको समस्या हुनु जस्ता अप्ठ्याराहरु देखा परे ।

(४) माओबादीहरुसङ्ग पार्टी एकता होइन,कार्यगत एकता गर्नु पर्दथ्यो । पार्टी एकता कम्युनिस्ट आन्दोलनलाई एकिकृतगर्ने महान उद्वेश्यका साथ गरिएन, बरु आफ्नो प्रधानमन्त्री पदलाई सुरक्षितगर्ने नियतका साथ सम्पन्न भयो । दुई फरक ऐतिहासिक धार र कार्यशैलीलाई एकीकृत र समाहित गर्ने प्रयत्न गर्नुभएन । फलस्वरूप यो एकता लामो जान सकेन ।

(५) एमालेभित्रको लोकतान्त्रिक पद्धतिलाई जिवित राख्दै बृहत एकता कायम गर्नु पर्दथ्यो । अदालतले एमाले ब्युताईदिएपछी तदनुकुलकै नीति,बिधान र साङ्गठनिक संरचनाहरुलाई स्वीकार गर्दै पार्टी संचालन गर्नुपर्द्थ्यो ।

(६) उनको बिगतको त्याग र उमेरको कारणले पनि मुलुकको साझा नेतृत्व बन्न कोसिस गर्नुपर्द्थ्यो ।कम्युनिस्ट आन्दोलन र पार्टीभित्रकै नियमित हुने स-साना अंतर्विरोधहरु बाट आफुलाई अलग राख्दै न्यायाधीशको भुमिकामा आफुलाई प्रस्तुत गर्नुपर्द्थ्यो । तर उनी विवादहरुमा आफै सामेल हुँदै गए । अभिव्यक्तिहरु अल्लारे प्रवृत्तिको देखियो । बिगतको पक्षधरता अनुसार व्यवहार गर्न थाले । मान्छेलाई पद बाडेर र हसाएर लोकप्रिय भइन्छ भन्ने भ्रममा बाचे । बिरोधि र आलोचकहरुलाई तह लगाउन साईबर स्यालहरुको जमात निर्माण गरे ।

मुख्य कुरा उनले आफ्नो हैसियत र उमेर बिर्सिए । संसदिय चलखेल,दाउपेच,कानुनी छिद्रहरुको प्रयोग र अति सत्तामोहले सर्वमान्य भइदैन भन्ने तथ्यलाई बुझ्नै सकेनन् । त्यसैले मुलुक एउटा राजनेता पाउनबाट बन्चित भयो । त्यतिमात्र होइन,इतिहासले निर्माण गरेको एउटा पात्रको दुखान्त अन्त्यको यो घडिमा चित्त दुखाउनेहरु किनारामा बसेर हेर्न बाध्य भए ।

दामोदर अर्याल
नेकपा एमाले केन्द्रिय युवा तथा खेलकुद विभागका सचिव हुनुहुन्छ।