बर्तमान परिपेक्षमा समग्र बिश्व नै Global Village मा रुपान्तरण भइसकेको र बिश्वका अधिकांस देसहरुमा लोकतान्त्रिक सासनको मोडालिटिमा पनि व्यापक सुधार भएको अवस्थामा हामी अझै पनि व्यक्तिको योग्यता , क्षमता अनि गुणस्तरमा भन्दा दलको नाम र चुनाव चिन्हलाई बढी महत्त्व दिने गरेका छौँ । शासन प्रणालीमा सुधार ल्याउनको निम्ति नेताहरु पनि अब बिबेकसिल ,योग्य , बौद्धिक र जनमुखी हुन आवस्यक छ अनि मात्र लोकतन्त्र थप सुदृढ हुन्छ ।
जब हामी चिन्हको लँडाई छाडेर गतिलो एजेन्डाको पछि लाग्छौँ अनि सोही अनुसारको नेता चुन्छौ तब दलहरू प्रती जनता र कार्यकर्ता थप आकर्षित हुन्छन । अब हिजोको जस्तो परम्परागत राजनैतिक पद्धतिमा दलहरू हिँड्नु हुँदैन । शासन व्यवस्थालाई नतिजामुखी बनाउन बर्सौ राजनीति गरेको भन्ने नाममा अयोग्य पात्रलाई बोक्ने होइन अब योग्य र कुसल नेता चुन्नु पर्दछ । बाग्मती प्रदेशमा आज सम्पन्न राष्ट्रिय सभाको उप निर्वाचनलाई विश्लेषण गर्दा बर्सौ राजनीति गरेका तर कुनै एजेन्डा र दम नभएका बादल भन्दा राष्ट्रले चिनेको एक योग्य , बौद्धिक व्यक्तित्व राष्ट्रिय सभामा चुनिँदा राष्ट्रिय सभाको छुट्टै गरिमा कायम हुने देखियो ।
अहिलेको राजनैतिक गतिविधि नयाँ पुस्ताको प्रती बितृष्णा हुनुको प्रमुख कारण अधिकांस नेताहरू अयोग्य हुनु नै हो । केन्द्रिय सरकारको बन मन्त्रीले नै रुखले कार्बनडाइअक्साइड फ्याँक्छ अक्सिजन लिन्छ भनेको सुन्दा के सिक्षित जमातले उनलाई ताली पिटेर बस्छ ? शिक्षा मन्त्रीले बिश्वबिद्धालयको दिक्षान्त समारोहमा शैक्षिक रुपान्तरणको खाका सुनाउलान भनेर प्रतीक्षा गरेका बौद्धिक विद्यार्थीले मन्त्रीज्यु को मुख बाट माइकालाल भनी भनी गाली गरेको सुन्दा के ठिक ठान्ला र ? भ्रष्टाचार गरेका मन्त्री ले सुसासनको कुरा गर्दा अबको जनताले ताली पिट्दै हिँड्ला र ? बिगतमा राजनीति गरेको हुँ, जेल परेको हुँ , भुमिगत बसेको हुँ भनेकै नाममा अयोग्य नेतालाई सासकिय जिम्मेवारी दिँदा देसको हालत सधै गिर्दो छ । र रहयो चिन्हको कुरा, के कुनै दलाल सुर्य चिन्ह लिएर उम्मेदवार बन्यो भने पबित्र बन्ने हो र ? कुनै भ्रष्टाचारि रुख चिन्ह लिएर उम्मेदवार बन्दैमा सदाचारी हुने हो र ? तसर्थ अब दलहरू सुदृढ हुनको निम्ति पार्टीलाई सुदृढीकरण गर्न आवस्यक छ ।
एउटा चिन्हको लोभ गरेर गलत कार्यलाई समर्थन गर्ने वा आत्मसमर्पण गर्दै राजनीतिबाट बिमुख हुने कि चिन्हको लोभ नगरी गतिलो एजेन्डा बोकेर नयाँ राजनैतिक सिराबाट राजनीति गर्ने ? त्यो सोँच्न आवस्यक छ । अब हिँजोका दिनमा तपाईंहरुले कसरी राजनिती गर्नुभो त्यो एक ठाउँमा छ तर अबको राजनीतिमा त्यो पच्दैन । लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसात गर्न सक्ने, दिगो बिकासको अवधारणा भएका, उत्पादन संग जोडिएका , बिश्व प्रणाली बुझ्न सक्ने, निस्कलंकित , योग्य पात्रहरूलाई मात्र हरेक राजनैतिक दलले अघि सार्नुपर्छ । ढंग नभएकालाई शासन सत्ताको जिम्मेवारी दिँदा देस दुर्घटना तर्फ जान सक्छ । नीति निर्माण गर्नेहरू झन अब्बल हुनुपर्दछ , न्याय प्रणाली दलिय प्रभाव मुक्त हुनुपर्दछ अनि मात्रै लोकतान्त्र बलियो हुन्छ ।
हामी त आफ्ना नेताले जति गलत कार्य गरेपनी हनुमान बन्दै उफ्रने , आफ्नो दलको चुनाव चिन्हबाट जति खराब पात्र चुनाव उठे पनि दुधले नुहाएको सम्झेर बोक्दै हिड्ने गर्छौं । न हामिले आफ्नो दललाई सुधार्न सक्छौं न नेतृत्वलाई । आलोचनात्मक चेत भएकाहरु लात खाएर बस्ने हो दासहरु र चाकरहरु हरेक कुरामा मालामाल चाहे पार्टी जिम्मेवारीमा होस चाहे नियुक्तिमा । एउटा नेताले शक्तिको दुरुपयोग गर्दै आफ्नै ठाउँमा मात्रै बजेट थुपार्दा ताली पिट्छौँ तर दुर्गमको बजेट खोसिँदा मौन बस्छौँ । स्रोत र साधनको न्यायोचित बितरणमा भन्दा आफू अनुकुल बाँड्नेलाई राजा मान्दै पुज्छौँ ।
तसर्थ देश बनाउन नाम चलेका चुनाव चिन्हको आडमा गलत व्यक्तिलाई कुनै हिसाबले ठाउँ दिनु हुँदैन । चुनाव चिन्ह भन्दा व्यक्तिको इमान, योग्यता , बिज्ञता धेरै ठूलो कुरा हो । राम्रो अनि योग्य पात्रलाई दलहरूले बोक्ने हो भने जुन चुनाव चिन्ह भएपनी जित्न गाह्रो छैन । चिन्हको निम्ति आत्मसमर्पण होईन सहि एजेन्डा र असल पात्रको साथ लिएर हिँडौ पार्टी संगठन लोभलाग्दो र जन उत्तरदायी बन्नेछ , लोकतन्त्र झन मजबुत हुनेछ ।
लेखक : कृष्ण भुसाल अनेरास्ववियुका नेता हुन ।




















