काठमाडौँ,२६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच देउवा निवास बुढानीलकण्ठमा भेटघाट भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि दाहाल देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए।

भेटमा एमालेभित्रको विवाद समाधान हुन लागेकोबारे र सर्वोच्च अदालतमा प्रधानमन्त्री दाबी गर्दै संविधानको धारा ७६ (५) अनुरुप गरेको दाबीमा सोमबारका लागि तोकिएको फैसलाको मितिबारे पछलफल भएको स्रोतले बतायो। ‘एमाले मिलेमा के गर्ने ?, सोमबारका लागि तोकिएको प्रधानमन्त्रीविरुद्ध दायर रिटको फैसलालगायत विषयमा छलफल भयो,’ स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १३९ जनाले सर्वोच्चमै पुगेर रिट दायर गर्दा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २३ सांसदले पनि हस्ताक्षर गरेका छन्। उनीहरूले पार्टी विवाद समाधान भएर हस्ताक्षर फिर्ता लिएमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको स्रोत बताउँछ।