काठमाडौं,२९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने भएका छन्। यद्यपि माओवादीले यसको आधिकारिक निर्णय गरिसकेको छैन।
प्रधानमन्त्री पदमा नियुक्त काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेर फर्केपछि माओवादी स्थायी समिति बैठक बसेर मन्त्रीहरूको अन्तिम सूची निर्णय गर्ने बताइएको थियो। यद्यपि माओवादी स्थायी समितिको बैठक बस्न सकेको छैन। अध्यक्ष प्रचण्ड स्थायी समिति सदस्यहरूको सम्पर्कमा नरहेको माओवादी स्रोतले जानकारी दियो।
यद्यपि पम्फा भुसाल र जनार्दन शर्मालाई सरकारमा पठाउने तय भइसकेको माओवादी स्रोतले दाबी गरेको छ। सरकारमा पठाउने मन्त्रीहरूको अन्तिम सूची तयार गर्न स्थायी समिति बैठक बस्ने भनिए पनि अहिलेसम्म बैठक बस्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।




















