केपी कमरेड दम्भ र अहँकारलाइ वालुवाटारमै छोडनु होला ......
पहिलो पटक संसद विगठन अगाडी सम्म श्रद्धय केपी ओली प्रति गुनासा थिए होलान तर कुनै प्रकारको नकारात्मक भाव थिएन । वहाँको विगत प्रति सन्देह पनि थिएन , सिकुवा पनि थिएन तर जव वहाँले पहिलो पटक संसदको असंवैधानिक विगठन गर्नु भयो तव वहाँको तत्कालिन वर्तमान प्रति खेद अनि विगत प्रति सन्देह पैदा भएकै हो । झन संसद विगठन , त्यसपछि नेकपा विगठन र एमालेको विभाजन हुँदै फेरी संसद विगठन गर्ने समेतको काम गर्ने केपी ओली प्रति त आक्रोश नै पैदा हुनु अनिवार्य थियो ।
जसले जे भनोस मिलेको नेकपा देखि अक्सर नफुटेको एमाले टुटाउने कामको पहिलो अपजस वहाँलाइ नै जान्छ किनकि पार्टीको प्रमुख नेता हुनुको नाताले मिलाउने काम वहाँकै थियो । त्यसमाथी तपाईंनै प्रमुख/प्रथम अध्यक्ष भएर चलाउनुस , तपाईं नै पुरा कार्यकाल प्रधानमन्त्री हुनुस भन्ने सहकर्मी संग सरकार संचालनको सम्वन्धमा सामान्य छलफल गर्न केपी ओलीले नचाहेकोले समस्याको सुरुवात भएको त दावी हैन तथ्य हो ।
आफ्नै पार्टी एमालेमा लामो समय आफ्नो नेता रहेर आफुलाइ गृह मन्त्री देखि उपप्रधानमन्त्री समेत बनाउने माधव नेपाललाइ मान्छे समेत नगन्ने काम पनि किमार्थ ठिक थिएनन भन्ने पनि आरोप हैन सत्य हो । झन पार्टीमा सहकर्मीहरुलाइ चिढ्याउने अनि राजेन्द्र महतो , महन्थ ठाकुर जस्ता संग घाँटी जोड्ने काम त लाजलाइ पनि लाज लाग्ने काम थियो । खैर जे होस जे हुनु भैसक्यो , जानेर नजानेर लोकतन्त्र र संवैधानिक सर्वोच्चतामा प्रहार गर्ने वहाँको कदम गलत सावित भएका छन , देश एक पटक फेरी कोर्स करेक्सनमा गएको छ ।
अव वहाँलाइ परास्त गरेकोमा खुसियाली गर्ने हैन , वहाँ समेतलाइ कोर्स करेक्सनको अवको बाँकी यात्रामा सहभागी गर्नै पर्छ । घृणाले हैन प्रेमले नै सकारात्मकता तर्फको यात्रा तय गर्छ , त्यसैले इतिहासमा गरिएका गल्ती कमजोरीको लेखाजोखाको जिम्मा इतिहासकारहरुलाइ छोडेर केपी ओलीलाइ फेरी पनि सम्वृद्ध नेपाल सुखी नेपालीको वहाँकै एजेण्डामा व्यवहारिक रुपले फर्काउनु पर्छ । अव स्वयं केपी ओलीले पनि अहँकार र दम्भलाई वालुवाटारमै छोडनु पर्छ र आफुलाइ संवाद , सहमति र सहकार्यको राजमार्गमा ल्याउनु पर्छ ।




















