काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्।बुधबार प्रधानमन्त्री निवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै नेपाललाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन्।

ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको समेत बताए। नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने ओलीले बताए।

उनले नेपाललाई लाजसरम हराएका व्यक्तिको संज्ञा समेत दिएका छन्। उन नेपाललाई विश्वासघाती भनेर चित्रण गरेका छन्।आफ्नो विकासप्रेमी सरकार ढाल्ने कार्यको अगुवाइ नेपालले गरेको ओलीले आरोप लगाए।

ओलीले भने, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरु। पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ छैन।’

ओलीले आफ्नो सरकारले सबैलाई पुग्ने गरि खोप ल्याएको दाव समेत दोहोर्‍याए। आफूहरुले खोप ल्याइसकेपछि शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले भने खोप ल्याउने भनिरहेको उनको दावी थियो।