काठमाडौं,३० असार । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि पार्टीको क्रियाशील सदस्यता वितरणको विषयलाई लिसर पार्टी मुख्यालय सानेपामा जारी धर्नाप्रति ऐक्यवद्धता जनाएका छन्। क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै धर्नामा रहेका बाराका नेता कार्यकर्तालाई भेटी ऐक्यवद्धता जनाएका हुन। धर्नामा ऐक्यवद्धता जनाउन नेता केसी बुधबार दिउँसो पार्टी मुख्यालय पुगेका छन।

विगत ४ दिनदेखि केन्द्रीय कार्यालयमा धर्नामा बसेका बाराका नेता कार्यकर्ताले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै धर्ना बस्न बाध्य भएको बताएका छन्। विधान विपरीत क्रियाशील सदस्यता वितरण भएको बाराका नेता कार्यकर्ताको आन्दोलनमा नेता केसीले समर्थन व्यक्त गरेका छन्।

२५ भन्दा बढी नेता /कार्यकर्ता धर्नामा बसिरहेका छन्। बारामा क्रियाशील सदस्यता वितरणमा ठूलो धाँधली धर्नामा बसेका कार्यकर्ताको भनाई छ। वडा सभापतिको हस्ताक्षरबिना नाम इन्ट्री भएको उनीहरुले जनाएका छन्।

साथै, क्षेत्रीय र पालिका कार्यसमितिको बैठकनै नबसिकन क्रियाशील सदस्यता इन्ट्री भएको पनि उनीहरुको भनाइ छ। धर्नामा रहेका स्थानीय नेता कार्यकर्ताको मागमा ऐक्यवद्धता जनाउन यसअघि नेता डा शेखर कोइराला पनि पार्टी मुख्यालय पुगेका थिए।जिल्लाका १ नम्बर क्षेत्र, २ नम्बर क्षेत्र र ४ नम्बर क्षेत्रको क्षेत्रीय सभापतिले नयाँ क्रियाशील सदस्य सीधै इन्ट्री गरेको धर्नाकारीहरुको भनाइ छ।