‘राजा’ बन्न खोज्दा....
कुनै पनि राजकीय पदका निश्चित मर्यादा, सीमा र कर्तव्य हुन्छन्। तिनका लक्ष्मणरेखा जब नाघ्न खोजिन्छ, तब जतिसुकै शक्तिशाली भए पनि उसको पतन सुरु हुन्छ। पूर्वराजा ज्ञानेन्द्र शाहको उदाहरण अब पुरानो भइसक्यो, नयाँ उदाहरण बनेका छन्- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली।
ओलीको यो स्थिति अरू कसैले सिर्जना गरिदिएको होइन। ‘राजा’ बन्ने आफ्नै महत्वाकांक्षाका कारण उनको यो हविगत भएको हो। ०७४ को आम निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेको संसदीय दलको नेताका हैसियतमा उनी प्रधानमन्त्री बनेका थिए। वाम गठबन्धनमा आबद्ध माओवादी केन्द्रले समर्थन गरेपछि उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो। पार्टी एकता भएर नेकपा बनेपछि त झन् उनी शक्तिशाली भएका थिए।
तर पार्टी तथा शासन चलाउने उनको शैली प्रजातान्त्रिक नेताको जस्तो भएन। जंगबहादुर राणाले १९०३ मा शासन–सत्ता हत्याउनुअघि राजाहरूले वा जंगबहादुरको उदयपछि राणाहरूले जसरी शासन चलाए, ओलीको शासन गर्ने तथा पार्टी चलाउने शैली पनि त्यस्तै हुकुमी पाराको रह्यो।
आफू प्रधानमन्त्री बनेपछि ओलीले मन्त्रिपरिषद् बैठकमा छलफल र विचार–विमर्शबाट निर्णय गर्ने परम्परै यसरी हटाए, जसरी १९ माघपछिको मन्त्रिमण्डलले अध्यक्ष राजा ज्ञानेन्द्रको इच्छाअनुसार निर्णय गर्थ्यो।
नेकपा बन्नुअघि एमालेमा सामूहिक छलफल र विचार–विमर्शका आधारमा निर्णय गर्ने परम्परा थियो। तर नेकपा भंगपछि पुनःस्थापित एमालेभित्र त्यस्तै हुकुमी शैली सुरु भयो। एमाले स्थायी समिति र केन्द्रीय कमिटीका सदस्य शाही परिषदका सदस्यजस्तै बने– ओलीका कुरा सुन्ने र ताली ठोक्ने!
आफ्ना कुरा अरूले मान्नैपर्ने, अरूका कुरा सुन्दै नसुन्ने, ओलीको ‘राजा–राणा शैली’कै कारण नेकपामा विग्रह सुरु भयो। नेकपा विघटनपछिको एमालेमा त झन् ओलीको हुकुमी शैलीले सीमै नाघ्यो। ओलीको अहिलेको स्थिति त्यसैको परिणाम हो।
नेकपा विभाजनपछि ओलीले प्रतिनिधि सभामा बहुमत गुमाए। तर पनि आफ्नो स्वभाव-शैलीको आत्मसमीक्षा गर्न आवश्यक ठानेनन्। नेकपाबाट एमालेलाई अलग्याएपछि पनि आफूमा परिवर्तन ल्याउन चाहेनन्। परिणाम– आफ्नै पार्टीका २३ सांसद कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गर्न बाध्य भए। त्यही कारण ओली सत्ताबाट घोक्रेठ्याक लागे।
तर अझै पनि उनी आफ्ना गल्तीबाट पाठ सिक्ने मनस्थितिमा देखिएका छैनन्। यति बेइज्जतीका साथ सत्ता छाड्नुपर्दा समेत बालुवाटार (सरकारी निवास) बाट बालकोट (निजी निवास) सर्दा उनले जुन तामझाम गरेका छन्, त्यसले उनी सच्चिने मार्गमा होइन, हुकुमी शैलीलाई अझ बढावा दिने संकेत दिएको छ।
पूर्वराजा शाहका गल्तीबाट पाठ सिकेका भए ओलीको परिचय सफल र उदाहरणीय प्रधानमन्त्रीका रूपमा हुने थियो। तर उनी आफैं ‘राजा’जस्ता बन्न खोजे, हुकुमी शैलीमा शासन चलाएर सत्ता लम्ब्याउने प्रपञ्चमा लागे, जसका कारण आज उनी यो स्थितिमा पुगे। दम्भ, अहंकार र हुकुमी शैलीका कारण सत्ता गुमाएको नयाँ उदाहरण बने।
अब ओलीका गल्तीबाट पाठ सिक्ने अवसर नवनियुक्त प्रधानमन्त्री देउवालाई प्राप्त भएको छ। हेरौं– उनले के गर्छन् ?
नेपाल खबरमा सीताराम बरालले यो समाचार लेखेका छन ।


