काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्वको निर्णय एकीकृत पार्टीले गर्ने बताएका छन् ।

युरोप भ्रमणका क्रममा स्वीटजरल्याण्ड रहेका प्रधानमन्त्री ओलीलाई एमाले र माओवादी पार्टी एकताअघि पुष्पकमल दाहाल प्रचण्ड र उनीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरिएकोबारे प्रश्न सोधिएको थियो ।

त्यसमा ओलीले ‘एकीकृत पार्टी बनिसकेको अवस्थामा सबै कुरा पार्टीको निर्णय अनुसार हुने’ बताएका छन् । केहि दिनअघि सरकारको नेतृत्व आधा–आधाको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यो कुनै नयाँ कुरा नभएको बताएका थिए ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् । यूरोप भ्रमणको क्रममा स्वीटजरल्याण्डबाट सोमबार बेलायत आएका प्रधानमन्त्री ओलीले अक्फोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनले आयोजना गरेको ‘शान्ति, लोकतन्त्र र विकास’ विषयमा साँझ सम्बोधन गरेका हुन् ।

‘राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको योगदानको हामीले प्रशंसा गर्नुपर्छ’, करिब १५० विदेशी र नेपाली सहभागीबीच प्रधानमन्त्री ओलीले भने, ‘नेपालीको सुख, शान्ति र समृद्धिका लागि कल्याणकारी राज्यव्यवस्था र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सरकार अग्रसर छ ।’

जनताको जीवन परिवर्तन ल्याउन सके मात्र मुलुकमा आर्थिक परिवर्तन हुने ओलीले दोहोर्‍याए । ‘अक्सफोर्ड विश्वविद्यालयले शिक्षाको विकासका लागि विश्वव्यापी योगदान गरेको छ, अनुसन्धान र खोज कार्यमा यो विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको छ’, धेरै नेपालीले समेत उच्च शिक्षा हासिल गरिरहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयबारे ओलीले भने ।

अक्सफोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष जेनभाइभा एथिसले कार्यक्रम शुरु गर्नुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।