काठमाडौं,१९ साउन । एमाले ‘बरिष्ठ नेता’ माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग आज बिहान भएको भेटबार्तापछि नेपालले आफ्नो समुहका केन्द्रीय सदस्यहरुको बैठक बोलाउनु भएको हो । बुधबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बस्ने सूचना नेता नेपालको सचिवालयले केन्द्रीय सदस्यहरूलाई पठाएको छ ।
स्थायी कमिटीका सदस्यहरूसँग लगातार छलफल गरिरहनु भएका नेता नेपालले आफूले भनेजस्तो सुझाव स्थायी कमिटीबाट नआएपछि केन्द्रीय कमिटीमा रहेका सदस्यहरुको राय लिएर नयाँ पार्टी गठन वा पार्टी एकताको टुंगो लगाउने तयारी गर्नुभएको हो । माओवादी अध्यक्ष प्रचण्डसँग लामो छलफल भएलगत्तै नेपालले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा लिइएको छ । स्रोतका अनुसार प्रचण्डले केन्द्रीय सदस्यहरु बिभाजनकै पक्षमा बहुमत पुग्ने भन्दै स्थायी कमिटी सदस्यहरुको बैठक नगर्न र केन्द्रीय सदस्यहरुको बैठक बोलाउन माधवलाई सुझाउनु भएको छ ।
उपाध्यक्ष भीम रावलसहित स्थायी कमिटीका नेताहरुसँग आज अध्यक्ष केपी ओलीसँग बार्तामा बस्ने जनाउनु भएका नेता नेपालले प्रचण्डलाई भेटेपछि एकाएक मुड चेञ्ज गरी केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुले पनि नेपाल बिभाजनतिरै जाने अनुमान लगाइएको छ । नेपालको यो निर्णयले सो समुहमा रहेका दोस्रो तहका नेताहरु आश्चर्य चकित भएका छन । ‘प्रचण्डलाई भेटन साथ केन्द्रीय सदस्यहरुको बैठक बोलाउने एकल निर्णय लिनुभएछ, हामी नै आश्चर्य चकित बनेका छौं,’ बिवाद समाधान कार्यदलमा रहनुभएका नेपाल समुहका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार प्रचण्डले कानमा चिनी हालेकै कारण माधव फेरि बाउठिनु भएको छ ।
नेपालनिकट बहुमत केन्द्रीय सदस्यहरु नवौं महाधिवेशनमा अध्यक्षमा पराजीत भएको बदला दशौं महाधिवेशन अगावै लिनुपर्ने भन्दै बराबरी हैसियतबिना एकता गर्न नहुने अडानमा छन । एक बर्षदेखि एमालेलाई कमजोर बनाउन न्वारानदेखिको बल लगाइएको भन्दै नेपाल समुहका केन्द्रीय सदस्य र सांस्दहरु शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानुपर्ने अडानसहित मन्त्री बनाउन पनि नेपालमाथि दवाव दिइरहेका छन । तर स्थायी कमिटी सदस्यहरूले एकताको लागि दबाब बढाएका छन ।
स्थायी कमिटीका नेताहरुब एकताकै पक्षमा उभिएपछि नेपालले केन्द्रीय कमिटीमा बिभाजनको पक्षमा बहुमत पुग्ने निश्कर्षस्हित बैठक बोलाउनु भएको स्रोतको भनाई छ । नेता नेपाललाई आफूले पार्टीबिरुद्ध गरेको अपराधबोध भएको कारण एमालेमा नबस्ने निश्कर्षमा पुग्नुभएको पनि बताइएको छ । एमालेमा फर्कदा कुनै पनि कार्यकर्ताले स्वीकार नगर्ने त्रास पनि नेपालमा रहेको छ । जनता टाइम्स बाट




















