काठमाडौं,१४ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन्। यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

एक नेताका अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुनेछ। यसैगरी बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष तहमा मन्त्रालय टुंगो लगाउने र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको छ।

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्। गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको बताइएको छ।