काठमाडौं, २४ भदौं । सत्तारुढ गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच ललितपुरको हात्तीवनमा छलफल भएको हो।
उनीबीच सरकार विस्तरबारे छलफल भएको बताइएको छ। सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। भदौ २३ गतेपछि सरकार विस्तार हुने भनिएपनि मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तार हुन नसिकेको हो।
माधव नेपाल र उपेन्द्र यादवबिच मन्त्रालयको भागबण्डाबीच विवाद मिलाउन प्रचण्डले आजको बैठकमा मध्यस्थता गरेको स्रोतले जनाएको छ। छलफलमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउनबारे कुराकानी भएको पनि बुझिएको छ।
प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन। एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष सुमारले शीर्ष नेताहरुसँग छलफल गर्दैछिन्।




















