काठमाडौं,९ बैशाख । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धीलाई व्याख्या गर्दै परमादेशलाई जनादेशबाट बिस्थापित गर्ने अठोट लिइएको छ ।

घोषणापत्रमा अहिलेसम्म भएका काम र गर्न बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ बनाउने प्रतिवद्धता पनि जनाइएको छ । यस्तै एमाले घोषणापत्रमा स्वास्थको विषयलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले आफ्नो घोषणापत्रमा प्रमुखताका साथ समेटेको छ ।

विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निस्शुल्क उपलब्ध गराउने समेत एमालेले जोड दिएको छ । यस्तै कृषिलाई पाँचौं प्राथमिकताको रुपमा घोषणापत्रमा समेटेको छ । त्यसैगरी यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय क्रमशस् एमालेको प्रमुख योजनाको रुपमा घोषणापत्रमा उल्लेख छ ।