विराटचोक,१६ बैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले)ले मोरङको सुन्दरहरैँचा नगरपालिकामा चुनावी अभियान तीव्र पारेको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि घरदैलो, मतदाता भेटघाट लगायतका कार्यक्रममा उम्मेदवारहरु केन्द्रित बनेका छन् । नेता कार्यकर्ता घरदैलो अभियानदेखि लिएर चुनाव केन्द्रित कार्यक्रममा व्यस्त बनेका छन् । बस्तीबस्ती पुगेर मतदातालाई पार्टीको एजेन्डा बुझाउँदै छन् ।

पूर्वमन्त्री एवम् एमाले नेता भानुभक्त ढकाल एमालेका सबै उमेदवारलाई जिताउन सक्रिय भएर लागेका छन् । यस्तै प्रदेश १ का प्रदेशसभा सदस्य राजकुमार ओझा अहिले आफ्नो पार्टीका उमेदवारलाई लिएर घरदैलो अभियानमा हिँडिरहेका छन् ।

2022-04-29 (5)

यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईंलाई पराजित गर्दै नेपाली काङ्ग्रेसका शिवप्रसाद ढकाल सुन्दरहरैँचाको मेयरमा विजयी भएका थिए । आसन्न निर्वाचनमा पनि गुरागाईं र ढकालबीच नै प्रतिस्पर्धा हुँदै छ । गठबन्धन गरेर चुनावमा होमिएको काङ्ग्रेसले पनि चुनावी अभियान चलाइरहेको छ ।

यसपटक नगरको नेतृत्व जितेर यसअघिको पराजयमाथि मलमपट्टी लगाउने प्रयासमा एमाले छ । विशेष गरेर सुन्दरहरैँचा एमालेको लालकिल्ला र कम्युनिष्टको आधार क्षेत्र मानिन्थ्यो । तर यसअघिको नतिजा भने ठीक उल्टो आइदियो ।

विगतको पराजयलाई बिर्साउने गरी लालकिल्लाको विरासत फर्काउनुपर्ने चुनौतीमा एमाले छ । अहिले एमालेका विभिन्न सङ्गठन, नेता तथा कार्यकर्ता उम्मेदवारलाई जिताएर पार्टीको विरासत फर्काउने दाउमा छन् ।

गठबन्धनका कारण काङ्ग्रेसभित्र बढेको असन्तुष्टिलाई समेट्ने प्रयास एमालेले गरिरहेको छ । काङ्ग्रेसको अन्तरद्वन्द्वले एमालेलाई केही फाइदा पुग्ने अनुमान गरिएको छ । विशेष गरेर एमालेका नेता कार्यकर्ता ५ वर्षसम्म ढकालको नेतृत्वमा नगरपालिका रहँदा भएका कमीकमजोरी र ढकालले गर्न नसके एवम् गर्न नचाहेका कामलाई आफ्नो चुनावी एजेन्डा बनाएर अघि बढेका छन् ।

279169995_3172429883086304_1127005053508576006_n

५ वर्षसम्म नगरको नेतृत्व गर्दा ढकालसँग सन्तुष्ट हुन नसकेको समूहलाई समेट्ने प्रयास एमालेले गरिरहेको छ । काङ्ग्रेसको असन्तुष्टिलाई समेटेर र आफ्ना चुनावी मुद्दा मतदातासम्म पुर्याएर एमाले निर्वाचनको नतिजा उम्काउने दाउमा छ ।

काङ्ग्रेसले सुरुमा मेयरको उम्मेदवारमा ढकालको नाम सिफारिस गरेको थिएन । पछि ढकाल मेयरको उम्मेदवार बनेर आए । जसका कारण बढेको असन्तुष्टि र काङ्ग्रेसबाट हुनसक्ने अन्तरघातको सम्भावनालाई समात्ने प्रयास एमालेले गरिरहेको हो ।

मेयरका आकांक्षी अरु हुँदाहुँदै ढकाल नै दोहोरिएर उम्मेदवार बनेपछि पार्टीभित्र केही समस्या देखिएको काङ्ग्रेसका एक नेताले बताए । ‘पार्टीले सधैँ एउटा व्यक्तिलाई मात्रै स्थान दिइरहेको र योगदान दिएका अरुले ठाउँ नपाएको भन्दै असन्तुष्टि चरम बनेको छ,’ उनले भने, ‘निर्वाचनमा यसको असर देखिन सक्छ ।’

तर ढकालले भने मेयरमा यसपटक पनि आफैले बाजी मार्ने बताउँदै आएका छन् । ‘५ वर्षसम्म नगरको नेतृत्व गर्दा सुन्दरहरैँचालाई एउटा ट्रयाकमा ल्याएको छु । मेरा कार्यकालमा ठुला र दीर्घकालीन महत्वका योजनाहरु सञ्चालनमा आए,’ उनले भने, ‘अझै पनि धेरै काम गर्न बाँकी नै छ । अधुरा कामलाई पूरा गर्ने जिम्मेवारी दिएर पार्टीले मलाई उम्मेदवार बनाएको हो ।’ नगरको नेतृत्वमा हुँदा दिएको योगदान, गरेका काम र जनताको विश्वास नै आफ्नो जितको मुख्य आधार भएको ढकाल बताउँछन् ।

2022-04-29 (14)

एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका केदारप्रसाद गुरागाईं शून्य सहनशीलतामा काम गरेर नगरभित्रको भ्रष्टाचार अन्त्य गर्ने बताउँछन् । ‘नगरमा बेथिती र भ्रष्टाचार मात्रै छ । जसका कारण जनता पीडित बनिरहनु परेको छ,’ उनले भने, ‘पछिल्लो ५ वर्ष जनप्रतिनिधिले केही गर्नै सकेनन् । सबै कुराले सुन्दरहरैँचा पछाडि पर्यो ।’

जनताको समस्या र पीडालाई सम्बोधन गर्न तथा नगरभित्रका सबै बेथितीलाई निमिट्यान्न पार्न पनि एमालेले जित्न आवश्यक रहेको गुरागाईंको भनाइ छ । आफू नगरको नेतृत्वमा आइसकेपछि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी र भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास हुने उनले बताए । सर्वसाधारणलाई बेवास्ता गर्दै यसअघिका जनप्रतिनिधि कमाउ धन्दामा लाग्दा नगरको बेहालत भएको उनको भनाइ छ ।

‘विकास निर्माणलाई तीव्रता दिएर समृद्ध सुन्दरहरैँचा बनाउने अभियानमा हामी छौँ । यसअघिको नेतृत्वले गरेका बदमासीको भण्डाफोर गरेर चुनावी अभियान चलाइरहेका छौँ,’ गुरागाईं भन्छन्, ‘यसपटक नगरको गुमेको शाख र लालकिल्लाको विरासत फर्काउनुपर्ने छ । सुन्दरहरैँचामा एमालेलाई चुनाव जित्न कसैले पनि रोक्न सक्दैन ।’

एमालेले उपमेयरको उमेदवार अकली चौधरीलाई बनाएको छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नवराज चापागाईं छन् । महिलाहरुलाई उम्मेदवार नबनाएको भनेर गठबन्धनभित्र चरम असन्तुष्टि छ । चौधरी त्यही असन्तुष्टिलाई समेटेर आफू चुनाव जित्ने योजनामा छिन् ।

उनी थारु कल्याणकारिणी सुन्दरहरैँचाको अध्यक्ष समेत हुन् । गठबन्धनभित्रको असन्तुष्टि, पार्टीमा दिएको योगदान र अहोरात्र जनताका पक्षमा लागेर पुर्याएको सेवा चुनाव जित्ने मुख्य आधार रहेको उनले बताइन् । त्यसै पनि सुन्दरहरैँचा माओवादीको कमजोर उपस्थिति भएको नगरपालिका हो ।

माओवादीको कमजोर उपस्थिति, गठबन्धनमा देखिएको विवाद तथा एमालेको मजवुत सङ्गठन एवं पार्टीप्रतिको बढ्दो जनसमर्थनलाई उनले आफ्नो जितको आधार मानेकी छन् । चौधरीका अनुसार टोलटोल र वडावडामा एमालेले घरदैलो विशेष अभियान चलाइरहेको छ ।

मेयर र उपमेयरका उम्मेदवारसहित एमालेले सुन्दरहरैँचाका सबै वडामा चुनाव केन्द्रित कार्यक्रम गरिरहेको उनले बताइन् । मेयरका उम्मेदवार गुरागाईं एमालेको जित बिना सुन्दरहरैँचामा समृद्ध नगर स्थापनको कल्पना पनि गर्न नसकिने बताउँछन् ।

 ।