सुन्दरहरैँचा,१८ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मोरङको सुन्दरहरैँचा नगरपालिकाको उपमेयर पदमा पुरुषलाई उम्मेदवार उठाएपछि गठबन्धन दलभित्र असन्तुष्टि बढेको छ ।

कुनै पनि पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनुपर्ने संवैधानिक व्यवस्था छ । सुन्दरहरैँचामा नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन बनेको छ । मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवार छन् । गठबन्धनबाट मेयरमा काङ्ग्रेसका शिवप्रसाद ढकाल र उपमेयरमा माओवादीका नवराज चापागाईंको उम्मेदवारी परेको छ ।

प्रतिस्पर्धी नेकपा (एमाले)ले भने प्रमुखमा केदारप्रसाद गुरागाईं र उपप्रमुखमा अकलीदेवी चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले पुरुष र महिलालाई उम्मेदवार बनाए पनि गठबन्धनले दुवै पदमा पुरुषलाई मात्रै उम्मेदवार उठाएपछि असन्तुष्टि बढेको छ । महिलाहरु सबैभन्दा बढी असन्तुष्ट बनेका छन् ।गठबन्धनभित्रकै दलबाट उपमेयरमा महिलाले बागी उम्मेदवारीसमेत दिएका छन् । असन्तुष्टिको प्रभाव आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पर्ने देखिएको छ । यसले एमालेलाई फाइदा हुने देखिएको छ । उपप्रमुखको उम्मेदवारी दिने आठ जनामध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारी दिने कमलादेवी अधिकारी नेपाली काङ्ग्रेसकी नेतृ हुन् । नेपाली काङ्ग्रेसकी महासमिति सदस्य तथा नेपाल महिला सङ्घ मोरङ निर्वाचन क्षेत्र नम्बर ३ की सभापति रहेकी उनले पुतली चुनाव चिन्ह पाएकी छन् । स्वतन्त्र उम्मेदवार मानबहादुर सार्कीले चुनाव चिन्ह हाँस पाएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट महेशकुमार आचार्य, विवेकशील साझाबाट सन्ध्या दाहाल, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सानी राई र राप्रपाबाट सुमित्रा बस्नेतले उपमेयरमा उम्मेदवारी दिएका छन् । काङ्ग्रेसकी अधिकारीको उम्मेदवारीलाई भने चासोका साथ हेरिएको छ । उनले काङ्ग्रेस र गठबन्धनभित्र असन्तुष्ट रहेकाहरुको भोट काट्ने अनुमान गरिएको छ ।

सुन्दरहरैँचामा काङ्ग्रेसले इशरवतीकुमारी माझीलाई उपमेयरको उम्मेदवारका रूपमा अघि सारेको थियो । पार्टीको प्रदेश १ समितिले माझीको नाम मनोनयनका लागि पठाएको पनि थियो । तर गठबन्धन दलमध्ये माओवादीको भागमा उपमेयर परेपछि अन्तिम समयमा आएर उनले उम्मेदवारी दर्ता गर्न पाइनन् ।
माझीले उम्मेदवारी दिन नपाएपछि आफू स्वतन्त्र उम्मेदवार बनेको अधिकारीले बताइन् । ‘हेला गरेर गठबन्धनले महिलालाई उपमेयरको उम्मेदवार बनाएन,’ उनले भनिन्, ‘महिलाप्रति न्याय गर्न म स्वतन्त्र उम्मेदवार बनेकी हुँ ।’ मनोनयन फिर्ता लिन चौतर्फी दबाब आए पनि आफूले उम्मेदवारी फिर्ता नलिएको अधिकारीको भनाइ छ ।

त्याग र तपस्या गरेर जीवनभर राजनीतिमा होमिएका महिलालाई गठबन्धनका नाममा पाखा लगाउने काम भएपछि महिलाहरु असन्तुष्ट बनेको उनले बताइन् । ‘गठबन्धनका नाममा महिलालाई हेला गरियो । पाखा लगाइयो,’ उनले भनिन्, ‘राजनीतिमा महिलाले दिएको योगदानको अवमूल्यन गर्ने काम भएको छ । महिलाको हक अधिकार कुण्ठित बनाउने काम गरियो ।’

महिलालाई स्थान दिनुपर्छभन्ने मान्यताबाट गठबन्धन पछि हट्दा असन्तुष्टि चुलिएको अधिकारीले बताइन् । भनिन्, ‘राजनीतिक दल पुरुषहरुका लागि मात्रै हुन भन्ने देखाउन खोजियो । त्यसलाई चुनौती दिँदै मैले स्वतन्त्र उम्मेदवारी दिएकी हुँ ।’ महिलाको लामो समयदेखि सामाजिक र राजनीतिक योगदानमाथि गठबन्धनले खेलवाड गरेको गुनासो उनको छ ।

अधिकारीले राजनीतिमा महिलालाई बञ्चित गर्ने उदेश्यसाथ उम्मेदवारी दिनबाट रोक लगाएको गुनासो पोखिन् । ‘राजनीतिका नाममा महिलालाई अन्याय हुँदा टुलुटुलु हेरेर बस्न सकिँदैन । त्यही भएर चुनावी मैदानमा आएँ,’ उनले भनिन्, ‘महिलाप्रति गरिएको व्यवहारले गठबन्धनलाई ठुलो नोक्सान पुर्याउँछ । महिलालाई न्याय दिन नसक्ने काङ्ग्रेसमा बसेर मरिमेट्नुपर्ने अवस्था देखिँदैन ।’ राजनीतिक र सामाजिक योगदानका कारण आफ्नो जित निश्चित रहेको र चुनावी अभियानलाई तीव्र पारेर लगेको अधिकारीले बताइन् ।


गठबन्धनभित्रकै दलमा चरम असन्तुष्टि देखिएसँगै सुन्दरहरैँचामा एमालेको जित निश्चित बनेको नेताहरुले बताएका छन् । त्यहाँमाथि सुन्दरहरैँचा एमालेको लालकिल्लाका रूपमा चिनिन्छ । तर २०७४ सालको स्थानीय निर्वाचनमा काङ्ग्रेसका ढकालले मेयर जितेका थिए । उमपेयर भने एमालेले नै जितेको थियो । सातवटा वडाहरुमा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । दुईवटा वडामा अध्यक्षबाहेक सबै सिटमा एमालेले जितेको थियो ।

यसअघि मेयरमा ढकालसँगै प्रतिस्पर्धा गरेका गुरागाईंलाई अहिले एमालेले मैदानमा उतारेको छ । गुरागाईंको सामाजिक र राजनीतिक छवि उच्च छ । ढकालको नेतृत्वमा सुन्दरहरैँचाले विकासमा फड्को मार्न नसकेको जनगुनासो रहेको गुरागाईंले बताए । ‘५ वर्षसम्म जनप्रतिनिधिले केही गर्न सकेनन् । समय त्यत्तिकै खेर फ्याले,’ उनले भने, ‘नगरको यसअघिको नेतृत्वप्रति जनजनमा असन्तुष्टि छ । त्यही भएर नगरका बासिन्दाले नयाँ नेतृत्व खोजेका छन् ।’

यसअघि प्राविधिक हिसाबले पराजय बेहोर्नु परे पनि यसपटक एमालेले नतिजा उम्कन नदिने नेकपा एमालेका मोरङ जिल्ला कमिटी सदस्य भक्तकिरण राईले बताए । उनका अनुसार एमालेले गरेको आन्तरिक सर्वेक्षणले पनि नतिजा उत्साहजनक रहेको देखाएको छ । राईले लामो राजनीतिक इतिहास बोकेका विकास प्रेमी, नेतृत्वका लागि सक्षम, कर्मठ र जुझारु तथा उच्च सामाजिक छवि बोकेका गुरागाईंलाई एमालेले मेयरको उम्मेदवार बनाएको बताए ।

यसपालिको निर्वाचनमा एमालेले उम्मेदवार छनोटमा विवेक प्रयोग गर्दै जाति, भूगोल र लैंगिक सबै क्षेत्रलाई समेटेको उनको भनाइ छ । ‘एमाले उम्मेदवार छनोटमा सबै क्षेत्रलाई समेटेको छ । उचित हिसाबबाट उम्मेदवार चयन गरेको छ,’ राई भन्छन्, ‘एमालेका उम्मेदवार सामाजिक र राजनैतिक हिसाबमा विवादरहित छन् । जनताको दुःख र सुखमा सधैँ साथ दिने जनप्रिय उम्मेदवारको मनोनयन अरु पार्टी र उम्मेदवारका लागि हाबी भएको छ ।’ राईले मेयर र उपमेयरसहित सबै पद र वडाहरुमा विजय प्राप्त गरेर सुन्दरहरैँचामा एमालेले बहुमत ल्याउने उल्लेख गरे ।

सुन्दरहरैँचा मोरङको क्षेत्र नम्बर ३ र ६ भित्र पर्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट एमालेका भानुभक्त ढकाल र क्षेत्र नम्बर ६ बाट एमालेकै लालबाबु पण्डित विजयी भएका छन् । प्रदेशसभा निर्वाचनअन्तर्गत क्षेत्र नम्बर ३ ‘ख’बाट एमालेकै राजकुमार ओझा विजयी भएका थिए । अहिले ढकाल, पण्डित, ओझा लगायतका नेताहरु स्थानीय निर्वाचनमा एमालेलाई विजयी गराउन लागि परेका छन् ।उनीहरुकै अगुवाईमा एमालेले अहिले चुनावी गतिविधि, सभा, सम्मेलन, मतदाता भेटघाट, घरदैलो लगायतका कार्यक्रम गरिरहेको छ । एमालेले जनता समक्ष आफ्ना एजेन्डा बुझाएर चुनावी अभियानलाई तीव्र पारेको छ ।
एमालेका प्रदेश १ कमिटीका सचिवालय सदस्य नागेश पोखरेलले यो निर्वाचनमा एमालेको पल्ला भारी रहेको बताए । भने, ‘एमालेले भारी मतान्तरले चुनाव जित्दै छ । सुन्दरहरैँचा एमालेको लालकिल्ला पनि हो ।’ स्थानीय स्तरमा स्थापित भइसकेको एमालेप्रतिको बढ्दो लोकप्रियताका कारण अरु पार्टीको लज्जास्पद हार हुने पोखरेलको भनाइ छ ।

अघिल्लो निर्वाचनमा गुरागाईंको हार हुँदा सुन्दरहरैँचाले पछुतो मानिरहेको उनले बताए । ‘मेयरका रूपमा विकास प्रेमी नेतालाई चुन्न नसक्दा सुन्दरहरैँचाले पश्चताप मानिरहेको छ,’ पोखरेल भन्छन्, ‘यसपटक सुन्दरहरैँचाले त्यो भूल गर्ने छैन ।’ उनले ५ वर्षअघि गुरागाईंलाई चिन्न नसक्दा सुन्दरहरैँचा विकासमा निक्कै पछाडि परिरहेको पनि बताए ।

प्रदेश सांसदसमेत रहेका एमाले नेता राजकुमार ओझाले मजवुत संगठन, पार्टीको सक्रियता, स्थानीय स्तरमा विकासका लागि गरिएका महत्वपूर्ण काम र लोकप्रिय उम्मेदवार एमालेको जितको आधार भएको बताए । ‘केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर एमाले नेतृत्वको सरकारले मुलुकको विकासका लागि राम्रा काम गरिरहेका बेला माओवादी र कांग्रेसबाट अवरोध भयो,’ उनले भने, ‘राम्रो काम गरिरहेको सरकार ढालेर मुलुकलाई अहित गर्ने गरी अप्राकृतिक गठबन्धन गरेर सरकार बनाएदेखि नै उनीहरुसँग जनता रुष्ट छन् ।’ ओझाका अनुसार एमाले नेतृत्वको सरकारले मुलुकमा गरेका राम्रा र जनपक्षीय कामले स्थानीय स्तरमा एमालेप्रतिको लोकप्रियता बढेको छ ।