विराटचोक,२५ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा जनतालाई धम्क्याउनु आपत्तिजनक भएको बताएका छन् ।

मतदातालाई धम्क्याउने काम तत्काल बन्द गरिनुपर्ने उनको भनाइ छ । एमाले मोरङ क्षेत्र नम्बर ३ ले सुन्दरहरैँचाको विराट चोकमा शनिबार साँझ आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनका नाममा चुनावका बेला मतदातालाई धम्क्याउने र तर्साउने गरिएको बताए ।

‘जनताले साथ नदिएर गठबन्धन असफल बन्दै गएपछि मतदातालाई धम्क्याउन थालिएको छ,’ उनले भने, ‘स्वेच्छाले भोट हाल्छु भन्दा यसरी धम्क्याउन पाइन्छ ?’ एमालेप्रति जनताको उत्साह र जनलहर देखेर गठबन्धन आत्तिएको ओलीको भनाइ छ । ‘एमालेमा जनताको विश्वास उत्साह बढ्दा अरुलाई सही नसक्नु भएको छ,’ उनले भने, ‘निद्रै लाग्न छाडेपछि गठबन्धनका नेता त फिल्डमै गएर जनतालाई धम्क्याउन थाले ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर छोरी (रेणु दाहाल)लाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर चितवनवासीलाई धम्क्याएको ओलीको भनाइ छ । ‘मैले गठबन्धनलाई १०–१५ वर्ष लैजाने योजना बनाएको छु । रेणुलाई जितायौ भने म खुसी हुन्छु, नत्र देशमा दुर्घटना हुन्छ भनेर प्रचण्डले के भन्ने खोजेको हो ?,’ प्रश्न गर्दै ओलीले भने, ‘यसरी जनतालाई धम्क्याउन पाइन्छ ? कसका लागि राजनीति गरेको ?’

काङ्ग्रेस नेतृ आरजु राणा देउवाले काङ्ग्रेसका उम्मेदवारलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने र कांग्रेसका उम्मेदवारले नजितेमा बजेट नपठाउने भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने पनि बताए । ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं । पाँचौं लाखलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्छौँ,’ ओलीले भने, ‘एमालेले सरकारको नेतृत्व गर्यो भने युवाहरुले विदेशिनु पर्दैन । मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन भन्ने कुरा सबैले बुझे हुन्छ ।’

निर्वाचनलाई एमालेलाई जिताए मात्रै मुलुक समृद्ध बन्ने र देशमा विकासको लहर चल्ने उनले बताए । ‘अब हामी चुनाव जित्ने चरणमा छौँ । एमाले सधैँ जनता र सुशासनको पक्षमा छ,’ उनले भने, ‘अब कोही पनि अलमलमा पर्न आवश्यक छैन । देश बनाउनका लागि सूर्यमा मतदान गर्न सबैमा आग्रह गर्छु ।’

सुन्दरहरैँचाको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको ओलीले बताए । भने, ‘महिला सहभागिता र समावेशीतालाई ध्यान दिएर उम्मेदवार छनोट गरिएको छ । त्यही भएकाले एमालेमा जनलहर छ । अब एमाले जनले आफ्नो मतको सुरक्षमा पनि ध्यान दिनुपर्छ ।’

एमाले मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय कमिटी सचिव भक्तकिरण राईले सञ्चालन गरेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवम् सङ्घीय सांसद भानुभक्त ढकालसमेत सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमालेका तर्फबाट सुन्दहरहरैँचा नगरपालिकाका मेयरका उम्मेदवार केदारप्रसाद गुरागाईं, उपमेयर उम्मेदवार अकली चौधरी र पथरीशनिश्चरे नगरपालिकाका मेयर उम्मेदवार मोहान तुम्वाफो एवम् उपमेयर उम्मेदवार देवीमाया काफ्ले, बेलबारी नगरपालिकाका मेयर उम्मेदवार दिलप्रसाद राई (डीपी), उपमेयर उम्मेदवार तिला गौतम तथा कानेपोखरी गाउँपालिकाको प्रमुखको उम्मेदवार राजमति इङ्नाम र उपप्रमुख उम्मेदवार भोलाप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।