- नबराज पथिक
काठमाडौ । मान्छेले गति छाडेपछि कसैको केही लाग्दैन । गति छाडाको औषधि नै छैन । मान्छे आफ्नो ठाउँमा बसुन्जेल इज्जत हुन्छ, मान प्रतिष्ठा हुन्छ । जब उसले आफ्नो औकात र हैसियत भुल्छ, तब निर्लज्ज हुन्छ । लुगा लगाए पनि नाङ्गो हुन्छ । जब कोही नाङ्गो हुन्छ, उसको कुरा काट्नुको कुनै अर्थ हुँदैन ।
अग्निप्रसाद सापकोटा अहिले नेपालमा त्यस्तै बेसरम पात्र हुनुभएको छ । उहाँलाई गाली गर्दा वा उहाँको कुरा गर्दा उहाँलाई होइन गाली गर्ने र कुरा गर्नेलाई लाज हुने अवस्था बनेको छ । शिक्षण पेसा छाडेर माओवादी राजनीतिमा लाग्नुभएका सापकोटाले राजनीतिकर्मीको नैतिकता त भुल्नुभयो भयो । शिक्षकहरूलाई समेत लाजमर्दो बनाउनुभयो ।
१५ वर्षसम्म शिक्षण पेसामा संलग्न हुनुभएका सापकोटा सिन्धुपाल्चोकको जनजागृति माविको प्रधानाध्यापक समेत हुनुभयो । शिक्षक आदर्श पात्र हुन्छन् भनेर गर्व गर्ने ठाउँ समेत सापकोटाले निम नास्ति पारिदिनुभयो । शिक्षक राजनीतिमा गएपछि बेइमान पनि हुन सक्छन् भन्ने नजिर सापकोटाले स्थापित गरिदिनुभयो ।
२०५१ सालमा माओवादीको केन्द्रीय सदस्य बन्नुभएका सापकोटा माओवादीको सशस्त्र द्वन्द्वको बेला पनि निक्कै हिंस्रक नेताको रूपमा परिचित हुनुभयो । उहाँ विरुद्ध काभ्रेका अर्जुन लामा लगायतका व्यक्ति हत्याको आरोप छ ।
अर्जुन लामा हत्याको आरोपमा उहाँ विरुद्धको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । व्यक्ति हत्याको आरोप लागेका सापकोटा माओवादीबाट सांसद्, मन्त्री र सभामुख समेत हुनुभयो ।
सो मुद्दामा सापकोटा विरुद्ध प्रहरीले पक्राउ पुर्जी नै जारी गर्यो । २०६२ साल वैशाख १६ गते अपहरणमा परेका लामा काभ्रेको दाप्चा स्थित श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्थ्यो । १५ वर्षसम्म शिक्षण पेसामा संलग्न सापकोटाकै संलग्नतामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या गरिएको आरोप लाग्यो । त्यो पनि द्वन्द्वको क्रममा होइन, निर्मम यातना दिएर हत्या भएको मानव अधिकार अयोगको अनुसन्धानले पुष्टि गरेको छ ।
त्यसो त माओवादीले सुरुमा उहाँको अपहरण गरेको नै स्वीकार गरेको थिएन । तर घटना ढाकछोप गर्न नसके पछि अपहरण गरेको तर सेनाले गरेको आक्रमणमा मृत्यु भएको माओवादीले बतायो । अनुसन्धानले अन्ततः उहाँको माओवादीको यातनाकै कारण ज्यान गएको पुष्टि गर्यो ।
तिनै अग्निप्रसाद सापकोटालाई माओवादीले फण्ट लाइनमा ल्यायो । सर्वोच्च अदालतले उहाँ विरुद्ध तत्काल अनुसन्धान गर्न आदेश दियो । प्रहरीले फरार अभियुक्तको सूचीमा राखी पक्राउ पूर्जी जारी गर्यो । अहिले पनि उहाँ विरुद्धको पक्राउ पूर्जी जारी छ ।
यो सबै कुरालाई पन्छाएर माओवादीले उहाँलाई सधैँ सत्ता र शक्तिमा ल्याइरह्यो । प्रहरीको कागजमा उहाँ फरार अभियुक्तको सूचिमा रहिरहनुभयो । तर सधैँ सेना र प्रहरी अघि पछि लगाएर हिँडिरहनुभयो ।
त्यही फरार अभियुक्त अग्निप्रसाद सापकोटा जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको सभामुख बन्नुभयो । राजनीतिक दलले निर्लज्ज भएर फौजदारी अपराधको फरार अभियुक्तलाई सभामुख बनाए । राजनीतिमा अपराधीकरण भनौँ वा आपराधिक पृष्ट भूमिका व्यक्तिलाई राजनीतिमा स्थापित गराए ।
त्यसो त उहाँलाई सभामुख बनाउने निर्णय हुँदा पनि विरोधमा आवाज नउठेको होइन । नागरिकले आवाज उठाए । तर त्यो आवाजलाई डलर खानेहरूको डकार भनेर राजनीतिक दलका नेताहरूले परिभाषित गरे ।
जसको परिणाम राजनीतिक दल अझ उहाँलाई सभामुख बनाउन सहयोग गर्ने नेकपा एमालेले राम्रैसँग भोग्यो । अग्निप्रसाद सापकोटा सभामुख हुनुभयो । तर उहाँ सधैँ माओवादी कार्यकर्ता बन्नुभयो । माओवादी कार्यकर्ता भन्दा माथि उहाँ कहिल्यै उठ्नु भएन । सभामुख सबै संसद्को साझा हुन सक्नु भएन ।
पछिल्लो समय त उहाँले यतिसम्म गरिदिनुभयो कि अन्य पार्टीले कारबाही गरेका संसद्को सूचना पाउने बित्तिकै पदबाट हटाएको सूचना टाँस गर्नुभयो । तर एमालेले कारबाही गरेका माधव नेपाल लगायतका सांसदलाई कारबाही नगरी आफ्नो असलियत देखाइदिनुभयो । एमालेलाई फुटाएर छाडिदिनुभयो ।
त्यति त भयो भयो, अहिले सापकोटाको सभामुख पद सकिइसक्यो । तर उहाँ अझै पनि आफू सभामुख भएको भन्दै सभामुखकै हैसियतले विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहनुभएको छ ।
उहाँको पद सकिएको कुरा संविधानले प्रष्ट रूपमा बताएको छ । संसद् सचिवालयले उहाँको पदावधि सकिएकोले तलब भत्ता नदिने निर्णय गरिसक्यो । निर्वाचन आयोगले उहाँ अब सांसद् नै नरहेकोले सभामुख हुन नसक्ने बतायो । राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले उहाँ सभामुख नभएकोले उहाँलाई कुनै पनि निर्णय गर्न नदिनु भनेर पत्र नै पठायो । तर सापकोटा यति लिच्चड बन्नुभयो कि सरकार र गठबन्धनको आडमा उहाँ अहिले पनि सभामुखकै हैसियतले सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । निर्लज्जता प्रकट गर्दै आउनु भएको छ ।
सापकोटा संविधान दिवसको कार्यक्रममा पनि सभामुखकै हैसियतले पुग्नुभयो । उहाँ त्यसरी जाँदा अन्य सहभागीले आश्चर्य मात्र मानेका थिएनन्, उहाँको लिच्चडपनको उपहास नै गरेका थिए ।
त्यसबाट त चेत्नु पर्ने हो नि, सापकोटाले अझै चेत्नु भएन । उहाँ बडादशैँको फूलपाती बढाइँ कार्यक्रममा पनि त्यही हैसियतमा लाज, सरम त्यागेर पुग्नुभयो ।
नेपालको संविधान २०७२ ले प्रतिनिधि सभा सदस्य नरहेको अवस्थामा सभामुख र उपसभामुखको पद स्वतः सकिने स्पष्ट व्यवस्था छ । अर्को व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता भएको दिनबाट सभामुख र उपसभामुखको पदावधि सकिने व्यवस्था छ । अहिले प्रतिनिधि समा सदस्यको पदावधि पनि सकिएको छ । प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको मनोनयन दर्ता पनि भइसकेको छ ।
अनि कुन संविधान, कानुन र नैतिकताको आधारमा अग्निप्रसाद सापकोटाले आफूलाई सभामुख भन्दै झण्डा र डण्डा लिएर हिँड्दै हुनुहुन्छ ? निलम्बनमै परेका भए पनि बहालवाला प्रधानन्यायाधीशको गाडी, झण्डा र सुरक्षाकर्मी खोस्ने शेरबहादुर देउवा नेतृत्वको सरकार अग्निप्रसाद सापकोटाको नाङ्गो नाच भने कहाँ बसेर हेरिरहेको छ ?
कुनै पनि पदमा नरहेको वा पद सक्किसकेको व्यक्तिले म त्यो पदमा छु भन्दै हिँड्नु कानुनी रूपमा अपराध हो । नैतिक रूपमा त त्यो भन्दा लज्जास्पद विषय के नै हुन्छ र ? सक्किसकेको पदको पदवी धारण गरेर हिँड्ने अग्निप्रसाद सापकोटालाई कानुनी कारबाही किन नगर्ने ? यो भन्दा अराजकता र अपराध कर्म अरू के हुन्छ ।
भोलि कुनै एक जना व्यक्तिले म नै प्रधानमन्त्री हुँ भन्दै झण्डा र डण्डा लिएर हिँड्यो भने सरकार के गर्छ ? कुनै अमुक व्यक्ति प्रधानन्यायाधीशको कुर्सीमा बस्न पुग्यो भने के गर्छ ? अग्निप्रसाद सापकोटालाई झैँ नाङ्गै छाडिदिन्छ कि पक्राउ गरेर कारबाही सुरु गर्छ ?
कानुनको नजरमा सबै बराबर हुन् । त्यो अग्निप्रसाद सापकोटा हाेस् कि, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड, अनि माधवकुमार नेपाल अथवा केपी शर्मा ओली ।
अझ गठबन्धनका पात्र त विधि विधान र प्रक्रियाको कुरा गरेर नथाक्ने पात्र हुन् । यस्ता पात्रको संरक्षणमा छाडा छाडिएका अग्निप्रसादलाई कारबाही कसले गर्ने ? कि छाडै छाडिदिने ?




















