काठमाडौं,२३ असोज । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवार भए पनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
भूसालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । तर भूसालले आफू वाम एकताको झण्डा उठाएका कारण किनारामा पारिएको भन्दै माओवादीको चिह्नबाट नलड्ने बताए ।
बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्छ भनेको भन्दै उनले भने, ‘राति साढे १२ बजे प्रचण्डको फोन आयो, उहाँले तपाईंलाई हाम्रो समर्थन रहन्छ । गठबन्धनले उम्मेदवार दिँदैन भन्नुभयो ।’
अब आफूले सत्ता गठबन्धनको समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा रुपन्देही १ मा उम्मेदवारी दिने उनले बताए । भूसाल २०७४ मा रुपन्देही ३ बाट निर्वाचित भएका थिए ।



















