काठमाडौं, २९ असोज । आम निर्वाचनको मिति नजिकिदै जाँदा दोलखाका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट नेताहरु एमालेमा प्रवेश गर्ने क्रम ह्वात्तै बढेर गएको छ ।

संघीय सरकारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने नेतृत्व गरेजस्तै दोलखामा एमालेले समृद्ध दोलखा निर्माणको नेतृत्व गरेको भन्दै कांग्रेस र माओवादीका नेताहरु एमाले प्रवेश गर्न थालेका हुन ।

यही क्रममा आज नेपाली काङ्ग्रेस बिगुका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेसका बिगु–काठमाडौ सम्पर्क समितिका सभापति बीरेन्द्र कटवाल आज आफ्नो सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभयो । उहाँलाई एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीलगायतका नेताहरुले स्वागत गर्नुभयो ।

एमाले प्रवेशको क्रममा कटवालले कांग्रेस बिकाश बिरोधी र राष्ट्रियताबिरोधी पार्टीमा परिणात भएको तथा माओवादीको प्रचण्डपथ अंगालेको कारण आफू राष्ट्रवादी पार्टी एमालेमा आएको बताउनु भयो ।