काठमाडौं,२ कात्तिक । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले एमाले जीवनको बाटो देखाउने पार्टी भएको बताउनुभएको छ । नेकपा एमाले रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको प्रचार तथा जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता ढुङ्गेलले अहिले निर्वाचनको संघर्ष मैदानमा रहेको बताउनुभयो । 

एमाले देशको सपना जागृत गर्ने पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । नागरिकको मरेको सपना जगाउने पार्टी एमाले नै भएको उहाँले बताउनुभयो । एमालेले संघर्षको मैदानमा धैर्यता लिन र विचलित नहुन सिकाएको ढुङ्गेलको भनाई छ  ।

नेकपा एमाले जनताको पार्टी भएकोले एमालेलाई जिताउन सबै नेता, कार्यकर्ता एकजुट भएर लागेका उहाँले बताउनुभयो । एमाले भित्र कुनै विमति र मनमुटाब नरहेको उहाँले प्रष्ट पार्नुभयो । 

एमाले विरुद्ध देशी विदेशी शक्ति मिलेर प्रहारको प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । यो कुरा एमालेलाई सह्यै नभएको उहाँको भनाइ छ । ‘गठबन्धनले एमाले माथि प्रहारको प्रयास गरिरहेको छ, पार्टी र विचार माथिको प्रहार एमालेलाई सह्यै हुँदैन’, उहाँले भन्नुभयो । 

विचार, लक्ष र दर्शनहीन गठबन्धनको चुनावमा डटेर सामना गर्न उहाँले एमाले कार्यकर्तालाई आह्वान गर्नुभयो । स्वार्थ नमिलेर एमाले छाडेर गएको स्वार्थ समूह अहिले के स्वार्थ मिलेर कांग्रेससँग टाँसिन पुगेका ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।