काठमाडौँ,८ पुस । गगन थापा एक उग्र महत्त्वाकांक्षी युवा हु्न् भन्नेमा विवाद छैन । कयौँ पाका नेताहरुलाई पाखा लगाउँदै गएको १४ औँ महाधिवेशनमा उनले महामन्त्रीजस्तो शक्तिशाली पद पड्काए ।
हो, उनी कांग्रेसभित्र ऊर्जावान् युवा र आशाका ज्योतिपुञ्ज हुन् र उनैलाई अघि सारेर चलाएको युवा अभियानको प्रभावस्वरुप धनराज गुरुङदेखि विश्वप्रकाश शर्मासम्मले पदाधिकारीको अग्रभाग ओगट्न सफल भएका थिए । गगनमा हुर्किएको महत्त्वाकांक्षाको यो प्रारम्भिक परिणाम हो ।
जब गगनले आफ्नो हैसियत बिर्सेर अति महत्त्वाकांक्षाको घोडामा सवार भई प्रधानमन्त्री पदकै लागि दाबी गरे र गएको चुनावमा प्रधानमन्त्री बन्छु भनेरै भोट माग्न थाले, त्यसले उनलाई आफ्नै समर्थक एवं सहयोग पंक्तिबाटै एक्ल्यायो । पार्टीभित्रका समकालीन एवं केही अग्रज नेतासमेत उनीसँग चिढिँदै गए । अरु त अरु, उनकै प्यानलबाट सभापतिका उम्मेदवार बनेका शेखर कोइरालाले समेत संसदीय दलमा गगनले दाबी गर्दै छन् भनेर फेसबुकबाट थाहा पाए । कम्तीमा सल्लाहमा यति काम गरेका भए उचित–अनुचितबारे छलफल हुन्थ्यो । योजना बन्थ्यो । देशव्यापी अभियान सञ्चारित गरिन्थ्यो । पहिला गगनले घोषणा गर्ने, हल्ला पिटाइहाल्ने अनि अन्तिममा बाध्य भएर शेखरको समर्थन खोज्ने शैलीले गगन स्वार्थी एवं आत्मकेन्द्री प्रमाणित भए ।
शेखरले अन्तिम समयसम्मै गगनलाई समर्थन गरेका थिएनन् । उनले भित्रैदेखि गगनलाई शुभकामना दिएका पनि होइनन् । बरु आफूलाई थाहै नदिई अस्वाभाविक लाग्ने गरी गगनले चुरीफुरी देखाएका दृश्यले शेखरभित्र झन् चिसो पसेको थियो । सभापति शेरबहादुर देउवाले नै कोइराला परिवारलाई रोक्न गगनलाई उचालेको हुन सक्ने बुझाइ शेखरको थियो । त्यस बुझाइबाट शेखर अझै पनि पछि हटेका छैनन् ।




















