काठमाडौँ,६ माघ । नेकपा माओवादी केन्द्रलाई शक्ति बाँडफाँटमा चित्त बुझाउन नसकेपछि सत्ताबाट उछिट्टिएर भुईं न भाँडामा हुन पुगेको नेपाली कांग्रेस अहिले संसदीय मूल्य मान्यताकै तेजोबध हुने गरी बेमौसमी अंकगणितको खेलमा लागेको छ । तर उसले जे–जति प्रयास गर्दै छ, ती सबैमा पराजय र बेइज्जतीबाहेक अरू केही पाइरहेको छैन । खासगरी सभापति शेरबहादुर देउवा र उनको सहयोगी मण्डलीको राजनीतिक मूर्खताका कारण सिंगो कांग्रेसको साख गिर्दै गएको छ ।
आफ्नै नेतृत्वमा सरकार बनाउन नसकेको चुकेपछि रन्थनिएको संसदको पहिलो दल नेपाली कांग्रेसले थापेको च्याँखेदाउ असफल भएको छ । प्रधानमन्त्रीमा विश्वासको मत दिने तर सभामुखमा प्रतिस्पर्धा गर्ने उल्टो बाटो रोजेर जग हँसाएको कांग्रेस नेतृत्वले अझै चेतेको भने देखिँदैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत हालेर प्रतिपक्षी हैसियतसमेत गुमाएको कांग्रेसको भूमिकामाथि आम रुपमा प्रश्न उठिरहेकै छ । तर कांग्रेसको नियत र नैतिकताको स्तर केही क्षणमै उदांगो बनेको छ ।
प्रधानमन्त्रीलाई अघि लगाउँदै सत्ता गठबन्धनसँग राष्ट्रपति र सभामुख पदमा भाग खोजे पनि सत्तारुढ घटक त्यसमा सहमत हुन सकेनन् । अब, अर्को रणनीतिका रुपमा सत्ता बाहिरका शक्तिलाई एकीकृत बनाउने प्रयास थालेको छ र त्यसैको आडमा राष्ट्रपति पाइन्छ कि भन्ने लोभमा कांग्रेसको बचेखुचेको साख दाउमा लगाइरहेको छ ।
मंगलबार प्रधानमन्त्री दाहालले सर्वदलीय बैठकमा राष्ट्रपति, सभामुख लगायतका पदमा सहमतिबाट टुङ्गो लगाउनुपर्ने प्रस्ताव गरेका थिए । तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यस विषयमा सहमत हुन सकेनन् । ओली सहमत हुन नसकेपछि प्रधानमन्त्री दाहालले पनि त्यसमा थप जोडबल गर्न सकेनन् । ओलीले राष्ट्रपति, सभामुख लगायतका पद कांग्रेससँग बाँड्न नचाहेपछि बुधबार दिनभर सरकारबाहिर रहेका दललाई एकै ठाउँमा ल्याउनमा कांग्रेसको गतिविधि केन्द्रित रह्यो ।
कांग्रेसको त्यो प्रयास सफल हुनेवाला थिएन । भयो त्यस्तै । त्यसको २४ घण्टा पनि बित्न नपाउँदै जनता समाजवादी पार्टी र जनमत पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने निर्णय गरे । कांग्रेस नेताहरु हिस्स परे । जबकि बुधबार दिनभर कांग्रेस नेताहरुले जसपा अध्यक्ष उपेन्द्र यादवदेखि लोसपा र जनमतका नेताहरुसँग घनीभूत वार्ता गरेका थिए । त्यही वार्तापछि कांग्रेस उत्साहित हुँदै सभामुखमा ईश्वरी न्यौपानेलाई आफ्ना तर्फबाट उम्मेदवार खडा गरेको थियो । सभामुखको चुनावमा कांग्रेससँग राष्ट्रिय दलको समेत मान्यता नपाएको उही नेकपा एस मात्र देखियो । सत्ता पक्षका उम्मेदवार देवराज घिमिरेले १६७ मत पाउँदा कांग्रेस उम्मेदवार न्यौपानेले जम्मा १०० मत मात्र पाइन् ।
सभामुख पदमा उम्मेदवारीका लागि कांग्रेसको सक्रियता सत्ताबाहिरका दललाई एकीकृत गर्ने र सत्ता गठबन्धनभित्रका असन्तुष्टिलाई पनि आफ्नो राजनीतिक लाभमा प्रयोग गर्ने उद्देश्यले प्रेरित छ भन्नेमा दुविधा छैन ।
सत्ता गठबन्धनविरोधी मोर्चाबन्दीको हुटहुटी कांग्रेसलाई जत्तिकै एकीकृत समाजवादीलाई पनि नभएको होइन । तर उनीहरुको मोर्चा कुनै नतिजा निकाल्न सक्ने अवस्थामा छैन ।सभामुखको निर्वाचनले अब राष्ट्रपतिमा पनि एमालेले चाहेकै उम्मेदवार विजयी हुने निश्चित गराएको छ । किनभने सत्ता गठबन्धनमा गडबड गर्न सक्ने ठानिएका दलहरु नै एकाएक बिहीबार इमानदाररुपमा प्रस्तुत भए । उनीहरुले अहिलेकै सत्ता गठबन्धनको पक्षमा रहेको उनीहरुले स्पष्ट जनाउ दिए । उनीहरुको यो अडान राष्ट्रपतिमा सत्ता गठबन्धनकै उम्मेदवार विजयी हुन्छ भनेर कांग्रेसलाई दिएको स्पष्ट सन्देश पनि हो ।
राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसदसँगै प्रदेश सभाका सांसदले पनि मतदान गर्छन् । यद्यपि मतभार पनि फरक हुन्छ । कुल ५२ हजार ७०७ मतभार रहेकोमा राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा ५० प्रतिशत अर्थात् २६ हजार ३५३ दशमलव ५ मतभार आवश्यक पर्छ ।
जम्मा १६ हजार २६९ मतभार रहेको कांग्रेसले एकीकृत समाजवादीसँगै जसपा र लोसपा लगायतका दललाई मनाउन सके मात्र सत्ता गठबन्धन दबाबमा पर्नेछ । कांग्रेसको पक्षमा उभिन सक्ने एक मात्र दल एकीकृत समाजवादीसँग २ हजार ५७४ मतभार छ ।यस्तै जसपासँग २ हजार १४५ र लोसपासँग ९७१ मतभार छ । जनमत पार्टीसँग १ हजार २४२, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, जनमोर्चासँग २०६ मतभार हुनेछ । यी सबै कांग्रेसको नेतृत्वमा एकत्रित हुँदा पनि मतभार २४ हजार १ सय ९३ हुनेछ । स्वतन्त्र र केही माओवादी मत चोर्न सकेको खण्डमा मात्र राष्ट्रपति पद कांग्रेसले आफ्नो पक्षमा पार्न सक्नेछ ।
जुन स्पष्टतः असम्भव देखिइसकेको छ ।संसदमा पहिलो दल बनेर पनि सत्ता गुमाएर कांग्रेसले किन रोइस् मंगले आफ्नै ढंगले भन्ने उखानलाई चरितार्थ मात्र गरेको छैन, एकपछि अर्को कदममा पराजित र लज्जितसमेत हुनुपरेको छ ।
माओवादीसँगको शक्ति बाँडफाँटमा सबथोक आफैसँग राख्न खोज्दा केही पनि नपाउने अवस्था निम्त्याउने कांग्रेस सभापति देउवा र उनका सहयोगीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सके मात्र पार्टीको साख पुनःजीवित हुन सक्नेछ । अन्यथा नेपाली कांग्रेस पार्टी इतिहासको संग्रहालयमा मात्र भेटिनेछ । तर बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता होनहार नेताले राजनीतिको शिखरमा पुर्याएको दललाई देउवाले खरानी बनाइरहँदा पनि नयाँ र युवा भनिएका नेताहरु समेत लाचार बनिरहनु अर्को आश्चर्यजनक र खेदजनक छ ।




















