धनकुटा,१५ माघ । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन्। शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य संघ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिएका हुन्।
रकमका विषयमा खरेलले नबताए पनि आफ्नो प्रस्तुति हुनु केही समयअघि भएको घटनाबाट आफू स्तब्ध भएको जनाउँदै खरेलले घटनामा घाइतेको उपचारका लागि पारिश्रमिक उपलब्ध गराएको बताएका हुन् । आफ्नो प्रस्तुति हेर्न आउने दर्शक घटनामा परी घाइते हुनुले आफूलाई दुखित बनाएको समेत उनको भनाइ छ ।
'उत्साह बोकेर धनकुटा गएको थिएँ,' उनले भने, 'घटनाले मलाई असाध्यै दुखित तुल्याएको छ ।' खरेल आफ्नो प्रस्तुतिको लागि महोत्सवस्थलबाट नजिकै रहेको होटल मुर्चुङ्गाबाट बाहिर निस्कँदै गर्दा घटना भएको थियो । उनको प्रस्तुति सुन्न सयौ दर्शक महोत्सवस्थल पुगेका थिए ।
सांगीतिक कार्यक्रम प्रस्तुत गर्न नपाए पनि घाइतेको उपचारमा आफ्नो दायित्व भएकोले उनले बताए । घाइते बालबालिकाप्रति लक्षित गरी रकम उपलब्ध गराउन आयोजकलाई अनुरोध गरेको उनले बताए । यस्तै, खरेलले उपचाररत घाइतेहरुसँग अस्पतालमा भेटघाट गर्ने समेत जनाए ।
गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिंगो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ।
घाईतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए। घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिए।




















