काठमाडौं,२२ माघ  । नेपालीमा एउटा उखान छ–‘नाच्न जान्दैन आँगन टेढो ।’ नाच्ने सिप नभए पनि आफ्नो सिपलाई खोट नलगाउने । आफू नाच्न नजान्ने बरु आँगनलाई नै दोष लगाउने ।

यो पुरानै परम्परा रहेछ । त्यसैले त नेपाली समाजबाट खारिएर आएर यो उखान बन्यो । समाज विज्ञानको प्रयोगशालाबाट प्रमाणित भएर यो उखान बन्यो ।

नेपालको राजनीतिका धरै यस्ता पात्र छन्– जो आफू नाच्न जान्दैनन्, आँगन भने सधैँ टेढो देख्छन् । ती मध्येका प्रमुख पात्र हुनुहुन्छ, माधव नेपाल । माधव नेपालको सन्दर्भमा त यो उखान मात्र पनि पर्याप्त हुँदैन । उहाँको चरित्र त ‘ जुन थालामा खायो, त्यही थाललाई कोपरा बनायो’ भन्ने उखानसँग पनि मिल्न पुग्छ ।

रौतहटमा उच्च ब्राह्मण कुलीन परिवारमा जन्मनुभएका माधव नेपालको बानी, व्यवहार र स्वभाव पूरै सामन्ती प्रवृत्तिको छ । उहाँको सरिरमा मधेसको सामन्त परिवारको रगत बगेको छ । त्यसैले नेपाल सामन्ती शैलीमा सबैलाई हुङ्कार गर्नुहुन्छ । दुत्कार्नु हुन्छ र ललकार्नु हुन्छ । ‘माधव नेपाल नेता हो, नेता, कार्यकर्ता होइन’ भन्नुहुन्छ ।

माधव नेपाल सन् १९९३ देखि लगातार १५ वर्ष नेकपा एमालेको पार्टी महासचिव हुनुभयो । त्यही पार्टीले उहाँलाई राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको नेता बनायो । उपप्रधानमन्त्री बनायो, प्रधानमन्त्री बनायो । मान, सम्मान, इज्जत सबै दियो ।

नेपालले नेकपा एमालेबाट पद पाउनुभयो । मान लिनुभयो । सम्मान पाउनुभयो । त्यसको बदलामा पार्टी सिद्ध्याइदिनुभयो । पहिलो दल बनेको नेकपा एमालेलाई उहाँले नेतृत्व गरेर चुनाव लड्दा १५ वर्षमा तेस्रो दल बनाइदिनुभयो र पार्टीबाट राजीनामा दिएर भाग्नुभयो ।

फेरी पार्टीको महाधिवेशनसम्म आइपुग्दा पुनः उहाँलाई पार्टी अध्यक्ष चाहियो । केपी ओलीसँग प्रतिस्पर्धा गर्नुभयो । आन्तरिक प्रतिस्पर्धामा पराजित हुनुभयो । तर चुप लागेर बस्नुभएन । पार्टी भित्र गुट बनाउनुभयो, षडयन्त्र गर्नुभयो, षडयन्त्रमा लागिरहनु भयो ।

वृहत् कम्युनिष्ट एकताको अवधारण अनुसार भएको एमाले र माओवादी एकता पछि पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर षडयन्त्र गर्नुभयो । अन्ततः वृहत् कम्युनिस्ट पार्टी तीन टुक्रा भयो । त्यसमा केपी ओली पनि दोषी हुनुहुन्थ्यो होला, प्रचण्ड पनि दोषी हुनुहुन्थ्यो होला र मुख्या खलनायकको भूमिका माधव नेपालले खेल्नुभयो ।

प्रचण्डको उक्साहटमा लागेर १५ वर्षसम्म नेतृत्व गरेको, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको नेता, उपप्रधानमन्त्री र प्रधानमन्त्री बनाउने पार्टी फुटाएर एउटा चोइटो लिएर बाहिरिनुभयो । आफैले खाएको थालामा आफैले फोहोर गरेर हिँड्नुभयो ।

पार्टी फुटाएर हिँडेपछि पनि उहाँले प्रमुख शत्रु त्यही पार्टीलाई बनाउनुभयो, जसले उहाँलाई एउटा उचाइमा पुर्‍यायो । त्यही पार्टी र त्यसका नेताहरूको उछित्तो काढिरहनुभयो । त्यही पार्टीलाई सिद्धाउन सामन्तको नेतृत्व गर्ने पार्टी नेपाली काँग्रेसको टाँग मुनी छिर्नुभयो ।

जति गर्दा पनि गएको स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा माधव नेपालको पार्टीको अवस्था ‘मच्चियो मच्चियो थच्चियो’ कै भयो । प्रतिनिधि सभा निर्वाचनमा माधव नेपालको पार्टीले थ्रेस होल्ड कटाउन पनि सकेन ।

त्यस पछि पुनः सुरु भयो आँगन टेढोको कथा । कहिले माओवादीले साथ दिएन, कहिले कांग्रेसले धोका दियो भन्दै गालीको वर्षा ।

अहिले माधवको पार्टीको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । बैठकमा उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनको सार नाच्न नजानेपछि आँगन टेढो भन्ने नै छ ।

माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दर्शन, विचार कार्यदिशा केही पनि नभएको पार्टीको रूपमा चित्रण गर्नुभएको छ । सो पार्टीलाई सस्तो लोकप्रियताको लागि अन्य दललाई गाली गरेर उदाएको पार्टीको संज्ञा दिनुभएको छ । गाली गरेरै उदाउने भए माधव नेपालले एमालेलाई जति कसले गाली गर्‍यो होला । झिँगाको गालीले कहाँ गाई ढल्छ र । माधवले जति गाली गरे पनि एमाले पहिलो दल बन्यो । माधवको पार्टीले थ्रेस होल्ड पनि कटाउन सकेन ।

दलाल र पुँजीवादीको पार्टी भनेर कांग्रेसलाई प्रष्ट रूपमा भन्ने माधव नेपाल त्यही पार्टीको पोल्टोमा लुटपुटिएर आफूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेता ठान्नुहुन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यही पार्टीसँग नमिलेको भनेर दिनरात माओवादीलाई अवसरवादीको आरोप लगाइरहनुभएको छ । आफूलाई सत्ताको वरिपरि घुम्न नदिएकोमा अलाप्दै हुनुहुन्छ ।

माओवादीलाई त उहाँले प्रष्टै शब्दमा ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भनेर विश्लेषण गर्नुभएको छ । माओवादीको कुनै वर्गीय अडान नभएको बताउनुभएको छ । फेरी उसैसँग मिल्न नपाएकोमा, कुम जोडेर बस्न नपाएकोमा चित्त दुखाउँदै हुनुहुन्छ ।

माओवादी र त्यसका अध्यक्षलाई सत्ता स्वार्थको निम्ति जस्तोसुकै कदम चाल्ने र सत्ताकै वरिपरि घुमिरहने बताउनुभएको छ । माधव नेपालले अरूलाई यसरी विश्लेषण गरिरहँदा आफूलाई अरूले के भन्लान् भन्ने सामान्य सोच राख्नु भएको होला कि नहोला ? कि आफूले नाच्न नजानेको कारण पूरै आँगन टेढो देख्नुभएको हो ? आफूले टिप्न नसकेपछि अङ्गुर अमिलो देख्नु भएको हो कि !

नेकपा एमालेलाई त उहाँले दक्षिणपन्थी, अवसरवादी र कुनै राजनीति अडान नभएको पार्टी भन्नुभएको छ । नेकपा एमालेले संविधान र व्यवस्था नै मास्न सक्ने समेत उहाँले आफ्नो प्रतिवेदनमा लेख्नुभएको छ । तर के गर्नु तातोपानीले घर डढ्दैन, कसैको रिसले मान्छे मर्दैन । एमालेलाई जनताले पत्याएका छन्, माधव नेपालले सरापेर के गर्नु !

उहाँले आफू र आफ्नो पार्टीलाई मात्र सच्चा कम्युनिस्ट र कम्युनिस्ट पार्टीको रूपमा देख्नु भएको छ । भनेर के गर्नु जनताले पत्याइदिनु पर्‍यो नि ।

माधव नेपालको अगाडि कुनै बेला प्रशस्तै अवसर थियो । जति बेला पार्टी एकता भयो त्यसलाई मिलाएर लैजान सकेको भए अहिले माधव नेपाल नै बहुमत सहितको कम्युनिस्ट प्रधानमन्त्री हुन पनि सक्नुहुन्थ्यो । उहाँ कुनै पनि बेला देशकै सबैभन्दा ठुलो र शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बन्न सक्ने अवसर पनि त्यतिकै थियो । कुनै पदमा नरहँदा पनि बोलेको बिक्ने, सबैले मान्ने नेता बन्नुहुन्थ्यो । तर माधव नेपाल ‘दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले’ बन्नुभयो । ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको घर पनि भत्काइदिन्छ’ गर्नुभयो ।

अहिले उहाँसँग न सत्ता छ, न शक्ति, न मान छ, न सान, न कसैले टेर्छ, न कसैले पुज्छ। अनि सबैलाई गाली गर्‍यो, बस्यो । सही तरिकाले नाच्न नजानेपछि यस्तै हुन्छ । ‘नाच्न नजान्ने, आँगन टेढो ।’

सनराइज खबर