काठमाडौँ,४ फागुन । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा दिएका छन्। बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाए।
उनले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको उल्लेख गरे। उनले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको बताए।
सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रूपमा चित्रित गरे। उनले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाए।
उनले भने‚ ‘संसद् विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौँ। वास्तवमा संसद् विघटन कायरता थियो। कायरता छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको छ। म चुनौती दिन चाहन्छु, अब कायरता दोहोरिन दिइनेछैन।’
संसद्को रोष्टमबाट सर्वोच्च अदालत आफ्नो पार्टीको कानून विभाग हो जस्तै गरी ललकार्ने परिस्थिति देखिएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे। त्यसले अदालत र कानूनप्रतिको निष्ठा झल्किएको भन्दै व्यंग्य गरे।
उनले भने‚ ‘बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धन आज कस्तो छ ? जनता समाजवादी पार्टी सरकारमा किन गएन ? नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएन ? काँग्रेसले ढोक्सा थापेर ? राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूलाई प्रधानमन्त्रीले नै संसद्बाट किन चेतावनी दिनुपर्यो।’
संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले अहंकारले देश नबन्ने र परिस्थिति नसम्हालिने स्पष्ट पारे।




















