काठमाडौँ,६ फागुन । दुई महिनाअघि आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यशक्तिका सबै पद गुमाएको कांग्रेस राष्ट्रपति निर्वाचनसँगै सत्ताको केन्द्रमा फर्कनेमा ढुक्क छ ।
यो विश्वासका आधार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् जसले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, प्रभावशाली नेताहरूलाई समेत भेटेर राष्ट्रपतिमा एमालेलाई होइन, कांग्रेसलाई सघाउने स्पष्ट वचन दिएका छन् ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा मनोनयन दर्ताको कार्यक्रम छ । त्यसका लागि एमालेसँग सहकार्य टुटाउन र कांग्रेससँग सम्बन्ध जुटाउन प्रधानमन्त्री दाहालले योजनाबद्ध काम गरिरहेको कांग्रेस नेताहरूको दाबी छ ।
‘राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गर्नेमा ढुक्क छौं, अलग–अलग नेताहरूसँग अलग–अलग भेटमा प्रधानमन्त्रीले वचन दिइसक्नुभएको छ, हामी अब माओवादीको औपचारिक निर्णयको प्रतीक्षामा छौं,’ कांग्रेसका एक प्रभावशाली नेताले भने, ‘प्रधानमन्त्रीमा माओवादी र सभामुखमा एमाले निर्वाचित भइसकेकाले माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गर्छ, लगत्तै कांग्रेस बैठक बसेर उम्मेदवार छान्ने तयारी छ ।’
राष्ट्रपतिमा समर्थन पाए दाहाललाई पाँचै वर्ष पनि प्रधानमन्त्री मान्न कांग्रेस तयार छ । प्रवक्ता प्रकाशशरण महतले भने, ‘संवैधानिक व्यवस्थाअनुसार चल्ने राष्ट्रपति चाहिन्छ भन्ने हाम्रो मान्यता हो, यसमा प्रधानमन्त्रीजी सहमत हुनुहुन्छ । कांग्रेसले अस्थिरता चाहेको छैन, आवश्यक परे प्रचण्डजीलाई नै आगामी पाँच वर्ष प्रधानमन्त्री स्वीकार गरेर अघि बढ्न तयार छौं ।’
त्यसो त सत्ता बाँडफाँटमा कांग्रेस र माओवादीबीच पुस पहिलो साता भएको समझदारी तत्कालै भत्किएको थियो । पुस ४ मा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बसेर आफूलाई प्रधानमन्त्री दिन सहमत भए पनि पछि धोका भएको दाहालको गुनासो छ ।




















