काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा एमाले र माओवादीका बीचमा अविश्वास बढ्दै गएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका लागि १३ गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी दर्ताको दिन आउन अब एक साता पनि बाँकी छैन । तैपनि राजनीतिक समीकरण केकस्तो बन्छ भन्ने यकिन भइसकेको छैन । कांग्रेस, एमाले र माओवादीका त्रिपक्षीय दाउपेच र अंकगणितीय हिसाब चलिरहेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल बाक्लिए पनि विश्वासको वातावरण भने पातलिँदै गएको छ । उनीहरुबीच अब समझदारीको सम्भावना क्षीण बन्दै गइरहेको छ । यी दुई नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा छलफल भएको थियो भने शुक्रबार प्रधानमन्त्री दाहाल ओली निवास बालकोट पुगेर करिब २ घण्टा नै छलफल गरे । छलफलमा दुई नेता मात्र सहभागी थिए । छलफलपछि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन नभत्किने र राष्ट्रपतिका विषयमा एकदुई दिनभित्रै निष्कर्षमा पुग्ने प्रतिक्रिया दिए । उनीहरुको हाउभाउ हेर्दाचाहिँ प्रचण्डको अनुहारमा कुटिल हाँसो देख्न सकिन्थ्यो भने एमाले अध्यक्ष ओलीमा असन्तोषभाव झल्किन्थ्यो ।
शुक्रबारको भेट दाहाल प्रधानमन्त्री भएपछिका करिब दुई महिनामा भएको सत्रौं एकान्त भेट हो । यसबीचमा दाहाल ५ पटक एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका छन् भने ओली १२ पटक दाहालकहाँ धाएका छन् । पछिल्लोपल्ट राष्ट्रपति कसलाई बनाउने भन्नेमा दुई नेताबीच खटपट छ । जति भेटे पनि उनीहरुबीच सहमतिको कुनै संकेत गरेको छैन ।नेकपा माओवादी केन्द्रले पुस १० मा नेपाली कांग्रेससँगको गठबन्धन छुटाएर नेकपा एमालेसँग सत्ता साझेदारी गरेयता केपी शर्मा ओली र पुष्पकमल दाहालबीच १७ पटक एक्लाएक्लै भेटवार्ता भयो । त्यसमध्ये ५ पटक बालकोटमा, १ पटक खुमलटारमा र ११ पटक बालुवाटारमा भेटवार्ता भएको देखिन्छ ।
१७ पटक छलफल गर्दा राष्ट्रिय समस्या र आम नागरिकका गुनासा सम्बोधनका विषयले कहिल्यै प्रवेश पाएन । केवल सत्ताको भागबन्डामा छलफल केन्द्रित छ । तैपनि गठबन्धनका मुख्य दुई घटकबीच सौहार्द सम्बन्ध बनाउन सकेको छैन । बरु राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा ओली–दाहाल सम्बन्ध चिसिँदै गएको छ । दाहाल आफै पनि ओलीसँग दूरी बढाउनकै लागि प्रयासरत रहेको उनका गतिविधिले देखाउँछ ।दाहालले एमालेलाई राष्ट्रपतिमा सघाउन नसकिने बताइसकेका छन् । हरेक भेटमा दाहालले पुस २६ पछि परिस्थिति फेरिएको भन्न छुटाउँदैनन् ।पुस २६ अघि एमालेसहित ७ दल सत्ताको साझेदार रहेकामा विश्वासको मत दिने बेलामा कांग्रेसले रणनीतिक दाउ खेल्यो । उसले विश्वासको मत दिएपछि त्यसलाई कायम राख्नुपर्ने दायित्व आफ्नो भएको दाहालको जिकिर छ ।
संसद्मा कमजोर गणित रहेको माओवादीले प्रधानमन्त्रीमा असाधारण विश्वास प्राप्त गर्यो । त्यसलाई राष्ट्रपतिको निर्वाचनपछि पनि अक्षुण्ण राख्नुपर्ने अभिभारा भएकाले एमालेलाई राष्ट्रपति दिन नसकिने दाहालको अडान छ ।पछिल्लो समय प्रधानमन्त्री दाहालले संसद्को बनोट त्रिशंकु भएकाले शक्ति सन्तुलनको तर्क गर्न थालेका छन् ।
राष्ट्रपति र सभामुख दुवै एउटै दललाई दिन नहुने अडान राखेर ओलीलाई चिढ्याएका दाहालले राज्यका प्रमुख अंगमा शक्ति सन्तुलन कायम नहुने हो भने संसद् पूर्ण आयुको नहुने बताइरहेका छन् ।त्यसो त दाहालले राष्ट्रपति कांग्रेसलाई नै दिनुपर्छ भनेर मुख फोरिसकेका छैनन् । दाहालले शक्ति सन्तुलन र पृथकीकरणको सैद्धान्तिक अड्चन तयार पारे पनि उनको मुख्य ध्येय पाँचै वर्ष प्रधानमन्त्री बन्ने हो । एमालेलाई राष्ट्रपति दिए ओलीले आफूअनुकूल पात्र खडा गर्छन् भन्ने त्रास दाहालमा छ । राष्ट्रपतिले विधेयक अड्काइदिनेदेखि सरकारलाई अप्ठ्यारो पार्न संवैधानिक सीमा नहेर्ने वर्तमान राष्ट्रपति विद्या भण्डारीका क्रियाकलापले नै पुष्टि गर्छ ।
त्यसकारण आफूलाई सहज हुने राष्ट्रपतिको अनुहार छानिरहेका छन् दाहाल । त्यसैका लागि उनले अहिले राष्ट्रिय सहमतिको राग अलापिरहेका छन् । राष्ट्रिय सहमतिबाटै राष्ट्रपति छान्नुपर्छ भनेर उनले स्थायी कमिटी बैठकबाट निर्णय गराइसकेका छन् ।उनले ओलीसँगको भेटमा पनि यही दोहोर्याउने गरेका छन् । राष्ट्रपति नपाए पनि ओली टाढा पुग्दैनन् भन्ने दाहालको विश्वास छ । कांग्रेससँगको गठबन्धन कायमै रहेको भए एमालेको भागमा प्रमुख प्रतिपक्षको बेन्च मात्रै पर्थ्यो । अहिले सभामुख मात्र होइन, प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाएको छ । यो हैसियत जोगाइराख्न पनि एमालेले माओवादीसँग तत्काल सम्बन्ध विच्छेद गर्दैन । त्यसैले पनि दाहालको मोलमोलाइ शक्ति उच्च भएको हो ।
यता राष्ट्रिय सहमतिको तर्कले कांग्रेसभित्र पनि खेल्न सहज भएको छ । कांग्रेसले अघि सार्ने उम्मेदवारले पनि आफूलाई अप्ठ्यारो नपारोस् र त्यहाँभित्र पनि आफूअनुकूल पात्र खडा गर्न सकियोस् भन्ने दाहालको दाउ छ । यति मात्र होइन, संसदका दुई ठूला दलबीच प्रतिद्वन्द्विता बढाएर आफ्नो प्रधानमन्त्रीकाल पाँचै वर्ष सुरक्षित गर्नु उनको अर्को रणनीतिक दाउ हो । कांग्रेस नेतृत्व दाहाललाई पाँचै वर्ष यो पद माओवादीलाई सुम्पिन तयार छ र जसरी पनि एमालेबाट माओवादीलाई अलग गर्ने एक मात्र रणनीतिका साथ कांग्रेस लागिपरेको छ ।
अहिले ओलीले राष्ट्रपतिका रूपमा सुवास नेम्वाङ वा रामबहादुर थापालाई अघि सार्ने तयारी गरेका छन् । उनले यो कुरा दाहाललाई भनी पनि सकेका छन् । नेम्वाङको हकमा दाहाल सकारात्मक हुन्छन् कि भन्ने ओलीको अपेक्षा भए पनि आफूसँग कमजोर गणित हुँदाहुँदै पनि दाहालले चलाखीपूर्ण खेल खेलिरहेका छन् । त्यसैले अझै केही दिन यही अडान राखेर दाहालले राष्ट्रपतिमा आफूअनुकूल पात्र खडा गरिछाड्नेछन् ।




















